प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि राजनीतिक दलको दौडधुप तीव्र

 बैशाख २५, २०७८ शनिबार १२:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरुको दौडधुप तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरु जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने प्रयासमा जुटेका छन् । 

कांग्रेसले पदाधिकारी बैठकमार्फत नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको छ भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस र माओवादी केन्द्रका नेताहरु अरु विपक्षी दललाई समेत आफ्नो कित्तामा ल्याउने प्रयासमा सक्रिय भएका छन् । अविश्वासको मतका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल-नेपाल समूह आन्तरिक छलफलमा जुटिरहेका छन् । 

यसैबीच, एमालेभित्रको आन्तरिक द्वन्द्व कारण प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन सक्ने वातावरण कमजोर बन्दै गएको छ । पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने खनाल-नेपाल समूहको अडान रहेको छ भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली कुनै पनि हालतमा पछि हट्न नसक्ने अडानमा हुनुहुन्छ । उनीहरुको अडानले नेकपा एमाले विभाजन उन्मुख भएको छ । 

शीर्ष नेताहरु आ-आफ्नै अडानमा रहेकै समयमा दोस्रो तहका नेताहरु समाधानका लागि पटक-पटक छलफलमा जुटे पनि समस्याको निकास निस्कन सकेको छैन ।

हिजो मात्रै एमाले अध्यक्ष ओली समूहका नेताहरु  ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पर्सि सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया