महामारीमा मोदीको क्रियाकलाप माफीको लायक पनि छैन : द ल्यान्सेट

 बैशाख २६, २०७८ आइतबार १५:७:० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – विश्वकै प्रख्यात मेडिकल जर्नल 'द ल्यान्सेट' ले कोरोना महामारी नियन्त्रणसँग जोडेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा आलोचना गरेको छ । म्यागेजिनले आफ्नो सम्पादकीयमा प्रधानमन्त्री मोदी कोरोना भाइरस नियन्त्रणभन्दा आफ्ना आलोचकलाई दबाउन लागिरहेका उल्लेख गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय रहने प्रधानमन्त्री मोदीले महामारीभन्दा आलोचक दबाउन समय खर्चिरहेको म्यागाजिनको आरोप छ । मोदीको प्रयास माफीको लायक नभएको सम्पादकीयमा उल्लेख छ ।

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक एण्ड इभ्याल्युएशनले आउँदो अगस्ट १ तारिखसम्म भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० लाख पुग्न सक्ने अनुमान गरिसकेको छ । यस्तो अनुमानका बीच  पनि अप्रिल महिनापछि सरकारी टास्क फोर्स नजागेको जर्नलले लेखेको छ ।

प्रधानमन्त्रीको बेवास्ताका कारण भारतले भोग्नुपरेको समस्या विश्वसामु रहेको भन्दै जर्नलले सम्पादकीयमा अब भारतले चाल्ने नयाँ कदमले भारतको भविष्य निर्धारण गर्ने बताएको छ । जर्नलले खोप अभियान पूरा नहुँदासम्म सङ्क्रमण रोक्ने पहललाई प्रभावकारी बनाउन सुझावसमेत दिएको छ ।

जर्नलको सम्पादकीयमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, परीक्षण गर्ने, क्वरेण्टीनको व्यवस्थालाई प्रभावकारी बनाउने जस्ता काम गर्न सुझाव छ ।  

ल्यान्सेटकाे याे सम्पादकीयलाई उद्धृत गर्दै विपक्षीले सरकारमाथि प्रश्न उठाउन सुरु गरेका छन् । कांग्रेस नेता तथा पूर्व अर्थ मन्त्री पी चिदम्बरमले ट्विटरमा लेख्नुभएकाे छ, ‘’ ल्यान्सेटकाे सम्पादकीयपछि यदि सरकारलाई लाज छ भने उसले देशसँग माफी माग्नुपर्छ ।’

उहाँले स्वास्थ्य मन्त्री हर्षवर्धनकाे राजीनामाकाे माग गर्नुभएकाे छ । 

मुम्बई कंग्रेसले ट्विटर ह्याण्डलमार्फत लेखेकाे छ, ‘माेदी सरकारले भाइरसकाे पहिलाे लहरपछि जितकाे घाेषणा गरेकाे सबैभन्दा राम्राे मेडिकल जर्नलले भनेकाे छ । सरकारले देशलाई विश्वभरमै हाँस्यकाे पात्र बनाएकाे छ ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया