नेपाल–खनाल समूहका सांसदहरु छलफलमा

 बैशाख २७, २०७८ सोमबार १०:५८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा बसिरहेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समयसीमाभित्र कुनै जवाफ नआएपछि आगामी रणनीति तय गर्न सांसदहरु छलफलमा जुटेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ । उज्यालोसँग कुरा गर्दै उहाँले आफ्नै पार्टी नेतृत्वविरुद्ध गठबन्धन गर्ने अनि फेरि २०७५ को जेठ २ मा फर्केर सबै निर्णय बदर गर्नुपर्छ भन्ने माग जायज नभएको बताउनुभयो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै हुनुहुन्छ ।

खनाल–नेपाल समूहले राजीनामा दिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ ।

कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मधु

    May 10, 2021, 11:07 a.m.

    अझैँ छलफल मै ?

  •  0 Reply

तपाईको प्रतिक्रिया