कांग्रेस र माओवादीलाई बहुमत जुटाउन सकस, साथ नदिने जसपा अध्यक्ष ठाकुरको अडान

 बैशाख २८, २०७८ मंगलबार ८:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर असफल बनाएका कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार गठनमा सकस पर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि हिजो राति नै तीन दिनको समय दिनुभएको छ । सरकार बनाउन तम्सिएका कांग्रेस र माओवादीले पर्सि राति  नौ बजेसम्म बहुमत जुटाउनुपर्नेछ ।

जनता समाजवादी पार्टीले साथ दिएमा नयाँ सरकार बनाउन सजिलो हुन्छ तर जसपाभित्र २ समूहको विवाद बढ्दै गएको छ । अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनमा साथ दिनुपर्ने बताउँदै आएको छ । तर अध्यक्ष महन्थ ठाकुर पक्षले भने सरकार गठनमा सहभागी नहुने अडान दोहोर्‍याएको छ ।

गएराति विज्ञप्ति निकालेर ठाकुरले नयाँ सरकार गठनमा सक्रिय हुने र नयाँ सरकारलाई साथ दिने कुरा पार्टीको उद्येश्य विपरित र मधेश आन्दोलनको मर्म विपरित हुने बताउनुभएको छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।

कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया