‘अक्सिजनको माग थेग्न नसक्ने भयाैँ, सरकारले वैकल्पिक व्यवस्था नगरे ठूलो सङ्कट देखा पर्छ’

 बैशाख २८, २०७८ मंगलबार १२:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको ज्यान गएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले आउँदा दिनमा अझै ठूलो समस्या आउने चेतावनी दिएका हुन् । 

अक्सिजन उत्पादक सङ्घका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको धेरै अभाव भएकाले चाैबीसै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणा बढ्ने चेतावनी दिनुभयो । उहाँले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता बढाउने भन्नेबारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । उहाँले अहिले काठमाण्डौ उपत्यकामा मात्रै आठ वटा प्लान्ट सञ्चालनमा रहेको र दुई वटा प्लान्ट मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि अहिलेकाे अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताउनुभयो । अहिले दैनिक झन्डै नाै हजार अक्सिजन सिलिन्डर उत्पादन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सगरमाथा अक्सिजन नेपाल प्रालीका अध्यक्षसमेत रहनुभएका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, उद्याेगमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आह्वान पनि गर्नुभयो ।

‘बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । चाैबीसै घण्टा प्लान्ट चलेको भए पनि वितरण प्रणालीमा आसाध्यै ठूलो चुनौती दिएको छ । कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपाय अपनाउन निजी उद्योगीहरू र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । समयमै सबैलाई समेटेर आपूर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हाम्रो आकलन र अहिले तीव्र बढेको कोभिड सङ्क्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने देशैभरिबाट अक्सिजनको अभाव, अस्पतालका बिरामीले अक्सिजन पाएनन् भन्ने सूचना प्राप्त भइरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरूले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ’, उहाँले भन्नुभयाे । 

उहाँले अघि भन्नुभयो, ‘यो महामारी सबैको प्रयासबाट समाधान गर्ने हो । अक्सिजन भनेको आजको आजै बनाउने भन्ने सम्भावना छैन । त्यसैले भएका क्षमता स्रोतलाई नै अधिकतम उपभोग गरेर यो महामारीलाई परास्त गरौँ । अस्पतालले पनि खाली सिलिन्डर तत्काल कम्पनीमा फर्काएर, यो सिलिन्डर अरूलाई पनि काम लाग्छ, अरू दुई जना बिरामी बाँच्छन् भन्ने कुरामा ध्यान पुर्‍याओस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधारण अहिले आफन्तको उपचारका लागि आफैँ अक्सिजन उत्पादन कम्पनीमा पुग्ने गरेका छन् । सर्वसाधारण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालीमा दुई दिन देखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विशेषगरी सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरूलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउमा निस्किएका छन् । मन्त्रालयले अस्पतालबाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका बिरामीको आवश्यकतालाई बेवास्ता गरेको भन्दै सर्वसाधारण आक्रोशित भइ अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया