प्रधानमन्त्री ओलीले आज शपथ लिने, महन्थ र नेपाल समूहलाई मन्त्रिपरिषदमा समेट्ने प्रयास

 बैशाख ३१, २०७८ शुक्रबार ६:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो ।

गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । ३ दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हट्नुभएको थियो ।

पुनः नियुक्ति पाउनुभएका प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूह र आफ्नै पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुभएन भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

तर, धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया