नेपालकाे राजनीतिले दिशा परिवर्तन गरिसकेकाे छैन : नेता रावल

 बैशाख ३१, २०७८ शुक्रबार १७:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले नेपालकाे राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताउनुभएको छ । शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता रावलले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भए पनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरूको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, नागरिकका समस्या छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी नागरिकले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मेहनत गर्नुपर्ने देखिन्छ ।’

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधि सभामा अनुपस्थित भएका नेपाल–खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमालेभित्रको सङ्कट निवारण भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूहरूको अडान यथावत् रहेको प्रतिक्रिया दिनुभयो । बिहीवार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पनि कानुनी शासन मान्ने पद्धति अनुरूप देश, विभिन्न सङ्गठन, विशेषगरी राजनीतिक दलहरू चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत् रहनुपर्दछ र अमिल्दा कुराहरू रद्द भएर पार्टी स्वाभाविक रूपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौँ । यस सन्दर्भमा हिजो जे–जति कुरा भए ती कुरामा केही सकारात्मक अवस्य छन् । त्यसले कुनै आकार ग्रहण गर्न अझै बाँकी छ ।’  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया