घोराहीमा अक्सिजन प्लान्ट बनाउन निजी क्षेत्रलाई आह्वान, उपमहानगरले अनुदान दिने

 बैशाख ३१, २०७८ शुक्रबार १७:४१:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको शुक्रवार (आज) बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पताललाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभएको छ ।

दीर्घकालीनरूपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको उहाँको भनाइ छ । 

समितिकी संयोजक एवम् नगरकी उपमेयर सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजीकरण गर्ने निर्णय गरेको हो । साथै बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा विशेष जोड दिन नगरवासीलाई अपिल गरेको छ ।

उपमहानगरपालिकाले नगरका कोरोना सङ्क्रमितकाे उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य हुँदै आएको जनाएको छ । यसका लागि ४५ लाख रुपैयाँ रकम दिने सहमतिअनुसार रकम र ५० थान अक्सिजन सिलिन्डरसमेत हस्तान्तरण भइसकेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ । 

यसैगरी प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पनि नगरका बिरामीको उपचार भइरहेको छ । साथै उपमहानगरपालिकाले १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी सङ्क्रमित भइ घरमै बसेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य परामर्श दिँदै आएको प्रमुख घर्तीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया