पार्टी एकताका लागि हाम्राे अडान यथावत् छ : नेता नेपाल

 बैशाख ३१, २०७८ शुक्रबार १७:५५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू पुरानै अडानमा यथावत् रहेको बताउनुभएको छ ।

पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहनुभएका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भए पनि पार्टीको मोडालिटीबारे भने टुङ्गो लागिनसकेको बताउनुभयो । उहाँले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गएकाे फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरूको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटमलाइन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवम् केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताको आवश्यकता पर्ला । छलफल गरेर टुङ्ग्याउने छौँ ।’ 

अध्यक्ष ओलीले मनोमानी ढङ्गले पार्टी चलाएको, संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएकाे नेपाल–खनाल समूहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो ।

नेपाल–खनाल समूहका सांसद प्रधानमन्त्रीले विश्वासको मत लिने वैशाख २७ गतेको दिन प्रतिनिधि सभाको बैठकमा पनि अनुपस्थित भएको थियो । तर संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढङ्गमा सहमति भएको थियो ।

त्यही सहमतिअनुसार नेपाल–खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रवार प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त हुनुभएको हो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया