देशकाे राजनीति बाहिरी पार्टीकाे हातमा नजाओस् भन्ने प्रयासमा छाैँ : उपेन्द्र यादव

 बैशाख ३१, २०७८ शुक्रबार १८:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्नुभएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा देशकाे राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको हो ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूहरू देशलाई सही बाटोमा हिँडाउन र देशकाे राजनीति देशका पार्टीकाे हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका अभिव्यक्ति संसद्लाई भङ्ग गरेर देशलाई अनिश्चितता र अन्याेलतर्फ लैजाने खालका भएको दाबी उहाँले गर्नुभयो  ।

नेता यादवले भन्नुभयो राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरी अझै नेपालको राजनीति दिशाहिनता, अनिश्चितता र अन्याेलतर्फ धकेलिएको छ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धरापमा पर्ने काम हुँदै गएको छ । त्यसैले आउने दिनमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि सङ्घर्ष गर्नुपर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया