‘आफूले सरकार बनाउन नसक्दा पनि प्रतिगमन, अरूले सरकार बनाउँदा पनि प्रतिगमन !’

 बैशाख ३१, २०७८ शुक्रबार १९:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै आफूले सरकार बनाउन नसकेपछि देशमा प्रतिगमन भएको देख्ने गरेको टिप्पणी गर्नुभयो । त्यस किसिमका आलोचनालाई उहाँले देशमा अस्थिरता चाहनेहरूको कुतर्कको संज्ञा दिनुभयो । 

शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यतिबेला पनि केही अस्थिरता चाहने र देशमा शान्ति देख्न नचाहने तत्त्वहरूले लोकतान्त्रिक मूल्य, मान्यताअनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थमा केन्द्रित कुतर्क गर्छन् । अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफूले सरकार बनाउन नसक्नु प्रतिगमन । अर्कोले सरकार बनाउनु प्रतिगमन । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट सधैँ हेर्छन् र अहिले पनि नागरिकलाई भ्रममा पार्न खोजिरहेका छन् । देशमा प्रतिगमन भएको छ र प्रतिगमनका विरुद्ध लड्न सबै एकजुट भएर लागौँ भनेर शान्ति कायम हुन नदिने, स्थिरता हुन नदिने र अस्थिरता र अशान्तिको एउटा भूमण्डल खडा गर्न खोज्ने प्रयास भएका छन् ।’

आफ्नो स्वार्थका निम्ति यस विकराल अवस्थामा सरकारलाई सेक्न खोज्ने प्रवृत्ति उचित नभएको भन्दै उहाँले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुसार, संविधान र कानुनका स्पष्ट व्यवस्था र मर्यादाअनुसार कोभिड १९ का विरुद्ध सङ्घर्षमा जुटेको स्पष्ट पार्नुभयो  ।

सरकारको गम्भीरतालाई छिमेकी र मित्र राष्ट्रहरूले हेरिरहेको भन्दै उहाँले यस्तो अवस्थामा पनि देश र नागरिकप्रति चिन्तित नभएर स्वार्थ केन्द्रित हुनु उचित नहुने प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया