पश्चिम बङ्गाल : ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार जना पक्राउ

 जेठ ३, २०७८ सोमबार १३:४२:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेको छ । नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको सीबीआईले उनीहरूलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र रहेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो । बाँकी सबै मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका नेता हुन् । राज्यपाल जगदीप धनखडले पक्राउ परेका नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसक्नुभएको सीबीआईले जनाएको छ । 

तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ । मुख्यमन्त्री ममता बनर्जीले नेताहरू पक्राउ गर्न स्वीकृति दिने अधिकार राज्यपाललाई नभएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

के हाे नारदा स्टिङ मुद्दा ?

पश्चिम बङ्गालमा सन् २०१६ का विधानसभा चुनावअघि नारदा न्युजका सीईओ म्याथ्यु स्यामुएलले एक स्टिङ भिडियाे सार्वजनिक गर्दै बङ्गालकाे राजनीतिमा हलचल ल्याइदिनुभएकाे थियाे । त्यस भिडिओमा तृणमूल कांग्रेसका सात सांसद, तीन मन्त्री र काेलकाता नगर निगमका मेयर शाेभन चटर्जी क्यामेराकाे सामु घुस लिएर एक नक्कली कम्पनीकाे काराेबारमा सहयाेग गर्ने आश्वासन दिएकाे देखिएकाे थियाे । फर्जी कम्पनीकाे प्रतिनिधिकाे रूपमा घुस दिने व्यक्ति अरू काेही नभइ म्याथ्यु स्यामुएल नै थिए । 

ममता बनर्जी र उहाँकाे पार्टीले आफ्नाे छवि बचाउनका लागि यस स्टिङ भिडियाेलाई राजनीतिक षड्यन्त्रकाे संज्ञा दिएका थिए । तर अब उच्च अदालतकाे सीबीआईसँग जाँचकाे फैसला र फेरि सर्वाेच्च अदालतले त्यस फैसला सदर गरेपछि तृणमूल कांग्रेस केही हच्किएकाे छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया