‘आइसाेलेशन सेन्टर खाेल्ने हाेजबाजी जस्तै चलेकाे छ, स्वास्थ्य मापदण्ड पूरा नगरे घातक हुन सक्छ’

 जेठ ४, २०७८ मंगलबार १५:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरि जथाभाबी आइसाेलेशन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै विभिन्न सङ्घ–संस्थाले आइसाेलेशन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेशन केन्द्र घातक हुने चेतावनी दिएको छ । 

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिन्डर लगायत सामग्री राखेर आइसोलेशन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभाबी आइसोलेशन सेन्टर नखोल्न सचेत गराएको हो ।  

न्युज एजेन्सी नेपालसँग मङ्गलवार कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेशन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मी, उपचारमा चाहिने उपकरण, औषधि र क्रिटिकल केअरका लागि लैजाने अस्पतालको समन्वय, प्रत्यक्ष निगरानीलगायत सुनिश्चित गर्न सुझाव दिनुभयो । उहाँले सामान्य भौतिक पूर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेशन केन्द्र स्वास्थ्यका हिसाबले अर्को घातक हुन सक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले आइसोलेशनको नाममा मानिसहरू जम्मा गरेर बस्न मिल्ने ठाउँहरू धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहिँ मानिसहरू आइसोलेशनमा आफ्नो घरको छुट्टै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन । स्वास्थ्य जटिलता, अलिकति गाह्राे भयो भने मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेशन केन्द्र स्वास्थ्यका हिसाबले अर्को घातक हुन सक्छ कि भन्ने डर छ । हामी सङ्क्रमणको आशङ्कामा पुग्यौँ भने अलग्गिएर बस्ने, परीक्षण गराउने, सङ्क्रमण पुष्टि भइसकेपछि पनि आफ्नो घर परिवारका अरू सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्‍याैँ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आइसोलेशन सेन्टर स्थापना गर्दा स्वास्थ्यकर्मी, त्यहाँ चाहिने उपकरण, औषधि र त्यहाँ गाह्राे हुनेबित्तिकै क्रिटिकल केअरका लागि, स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौँ भने हामीलाई गाह्राे हुन्छ ।’

उहाँले टोल–टोलमा आइसोलेशन सेन्टरका नामा स्वास्थ्य सामग्रीको ठूलो खपत हुने र आवश्यक पर्ने अस्पतालमा उपचार सामग्रीको अभाव हुन सक्ने स्थिति सिर्जना भएकाले आफूहरू चिन्तित बनेको बताउनुभयो । उहाँले आइसोलेशन सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार राख्नैपर्ने स्वास्थ्य सामग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको बताउनुभयो ।

डाक्टर अधिकारीले कोभिड १९ को उपचार नभइरहेको अवस्थामा सङ्क्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले आइसोलेशन सेन्टर खोल्दै अस्पताल जस्तो क्रिटिकल केअर गर्ने ठाउँमा अक्सिजनलगायत स्वास्थ्य उपचारका सामग्री अभाव हुने चुनौती पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केअर र आवश्यक पर्दा अस्पतालको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकाेमा जाेड दिनुभयाे । 

उहाँले सङ्क्रमणलाई फैलन नदिन स्वास्थ्य सतर्कताका मापदण्ड कडाइका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गर्नुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया