अस्पतालमा ‘बेड खाली’ : मन्त्रालयको सूचना र वास्तविकतामा किन फरक ?

 जेठ ५, २०७८ बुधबार १४:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरसका सङ्क्रमितले अस्पतालमा बेड पाउन नसकेको गुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाण्डौ उपत्यकाका केही ठूला अस्पतालमा रहेका बेडको अवस्थाबारे जानकारी दिन थालेको छ । काभ्रेको धुलिखेलसहित काठमाण्डौका ठूला १८ अस्पतालमा रहेका आइसोलेशन, आईसीयू र भेन्टिलेटरको जम्मा सङ्ख्या र बिरामीको सङ्ख्याबारे मन्त्रालयले जानकारी दिने गरेको हो ।

मन्त्रालयले मङ्गलवार दिएको जानकारीअनुसार यी अस्पतालमा आइसोलेशन, आईसीयू र भेन्टिलेटर गरी पाँच सय १७ बेड खाली छन् । तर मन्त्रालयको यो तथ्याङ्कलाई विश्वास गरेर सम्पर्क गर्दा धेरैले बेड पाउन नसकेको गुनासो गरेका छन् । केही अस्पतालमा चाहिँ मन्त्रालयले भनेको भन्दा पनि धेरै बेड खाली छन् ।

वीर अस्पतालका फोकल पर्सन डाक्टर अच्युत कार्कीले अहिले अस्पतालका कुनै पनि बेड खाली नरहेको जानकारी दिनुभयो । तर आकस्मिक कक्षमा आउने सबैलाई आवश्यक व्यवस्था मिलाएर उपचार भने गर्ने गरिएको उहाँले बताउनुभयो ।

‘केही दिनको तुलनामा बिरामीको चाप कम भएको छ तर बेड खाली हुनेबित्तिकै फेरि अर्को बिरामी राख्नुपर्ने भएकाले अहिले यतिखेर कुनै पनि बेड खाली छैनन्’, कार्कीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘तर आकस्मिक कक्षमा आउने बिरामीलाई हामी कुनै न कुनै व्यवस्था गरेर उपचार गर्छाैँ ।’

कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भने ७५ बेड खाली छन् । मन्त्रालयको सूचनामा एक सय ८९ बेड सङ्ख्या भने पनि यहाँ दुई सय ११ बेड रहेको अस्पतालका फोकल पर्सन डाक्टर जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘अक्सिजन नचाहिने बिरामीका लागि हामीसँग अहिले ७५ बेड खाली छन्’, श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो । केन्द्रमा ३१ वटा मात्रै अक्सिजनसहितको बेड रहेकोमा अहिले सबैमा बिरामी रहेका उहाँले जानकारी दिनुभयो ।

तर अस्पताल जानुपर्ने धेरै बिरामीलाई अक्सिजन चाहिने भएकाले परिवार र आफन्तले अक्सिजन भएकै ठूला अस्पतालमा लैजान खोज्छन् । ती अस्पतालमा बिरामी लिएर जाँदा बेड पाउन नसकेको उनीहरूको गुनासो छ ।

आइसाेलेशन, आईसीयू तथा भेन्टिलेटरकाे विवरण–

अस्पतालको अवस्था र मन्त्रालयको विवरणमा किन फरक ?

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण हेर्दा काठमाण्डौ उपत्यकाका ठूला अस्पतालमा बेडको समस्या छैन । तर अस्पताल जानुपर्ने बिरामीले आकस्मिक कक्षको कुर्सी र भुइँमै समेत बसेर उपचार गर्नुपर्ने बाध्यता छ । यस्तो किन त ? उज्यालोको जिज्ञासामा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भन्नुभयो, ‘हामीले हरेक अस्पतालको विवरण लिँदा दिउँसो २ बजेसम्म प्राप्त सङ्ख्या हो यो । हामीले विवरण सङ्कलन गरेपछि त्यसलाई सार्वजनिक गर्छाैँ । त्यसपछि आकस्मिक कक्षमा रहेका बिरामी खाली बेडमा जाने भएकाले यस्तो भएको हुन सक्छ ।’

बेड खाली भएन भने पनि यी अस्पतालमा कुनै न कुनै व्यवस्थाबाट उपचार हुने पनि उहाँले बताउनुभयो । ‘मन्त्रालयले सार्वजनिक गरेको यी अस्पतालका आकस्मिक कक्षमा पुग्ने बिरामीको जसरी पनि उपचार हुन्छ । जानेबित्तिकै बेड खाली भएन भने पनि खाली हुनेबित्तिकै उहाँहरूले पालाे पाउनुहुन्छ’, डा. अधिकारीले भन्नुभयो ।

वीर अस्पतालका फोकल पर्सन डाक्टर अच्युत कार्कीले पनि आउनेबित्तिकै बेड नपाउने समस्या भए पनि आकस्मिकमा राखेर उपचार गर्ने र बेड खाली हुनेबित्तिकै बेडमा राख्ने गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया