कार्टुनलाई लिएर प्रधानमन्त्री ओली असन्तुष्ट

 जेठ ९, २०७८ आइतबार १७:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गर्नुभएको छ । आइतवार बालुवाटारमा प्रेस चाैतारी आबद्ध पत्रकारहरूसँगकाे अन्तरक्रियामा 
प्रधानमन्त्री ओलीले लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टि जनाउँदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतीकको रूपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको । कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्ता घृणित कार्यहरू । राजतन्तत्र भनेको प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विशाल भीमकाय फोटो बनाउने र नागरिकबाट निर्वाचित जनप्रतिनिधित्वको गणतन्त्रको प्रतीकको रूपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाका, सामन्ती संस्थाको एउटा खल्तीमा राख्नेसम्मको ? लोकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग हो ।’ 

उहाँले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, केही त मिसन पत्रकारिता भएका छन् । जसको काम उपलब्धिको चर्चा नगर्ने र कमजोरीको मात्रै चर्चा गर्ने, छैन भन्ने, बनावटी अन्तरकुन्तरबाट मार्मिक कहानीहरू बनाउने, निकाल्ने । मार्मिक स्थितिको चित्रण गर्ने । त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासलाई साथ सहयोग गर्ने भन्दा पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति बोकेका छँदैछन् ।

उहाँले लोकतन्त्रका विरुद्ध अतिवादी शक्तिबाट निर्देशित हुने, अतिवादी शक्तिको लाचार छाया बनेर तिनको पछि–पछि लाग्ने काम नगर्न सचेत गराउनुभयो । लोकतन्त्र आएपछि वैचारिक ढङ्गले भेदभाव गरिएका घटनाको फेहरिस्त दिँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार तानाशाही छ ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकार तानाशाही छ ? लोकतन्त्रमा पचासाैँ पल्ट हामी गिरफ्तार भएका छौँ । नेताहरूले चुटाइ खाएका छन् । के अहिलेको सरकार त्यस्तो छ र ?’ 

प्रधानमन्त्री ओलीले राज्य कोषको दुरुपयोग गर्ने, मुख मिठ्याउने र जिब्रो चाट्ने काम नगर्न पनि सबैलाई सचेत गराउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया