सर्वाेच्चमा रिट हाल्न जाने सांसदकाे सङ्ख्या अझै बढ्छ : नेता दाहाल

 जेठ ९, २०७८ आइतबार १७:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा रिट लिएर जाने सांसदको सङ्ख्या एक सय ४९ भन्दा बढ्ने बताउनुभएको छ । 

अध्यक्ष प्रचण्डले आइतवार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने एक सय ४९ सांसद सर्वोच्च अदालतमा रिट हाल्न जाँदा सङ्ख्या नघट्ने बताउनुभएको हो । याे सङ्ख्या अझै बढ्ने उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामीसँग एक सय ४९ प्लस अरू केही साथी पनि थपिनुभएको छ । रिटको तयारी भइराखेको छ । ड्राफ्ट अन्तिममा पुगेको छ, बेलुकासम्म त्यो टुङ्गिदैछ । शारीरिक रूपमा नै बहुमत उपस्थित भएर भोलि हामी अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ । तपाईँहरू कोही कन्फ्युज नहुनुहोला, अस्ति एक सय ४९ मा हस्ताक्षर नगर्नेमध्ये पनि केही सांसद थपिनुभएको छ । घट्नुभएको छैन ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको हस्ताक्षर सङ्कलन भइरहेको र भोलि बिहान १० बजे रिट दर्ता गरिने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि आजै सबैले हस्ताक्षर गरिसकेको र बहुमत पुगिसकेको बताउनुभयो । याे सङ्ख्या अझै बढ्ने पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको तर्फबाट आजै सबै जिल्ला र पालिकामा विपक्षी गठबन्धनका पाँच राजनीतिक दल छलफल गरी अवस्था हेरी राजनीतिक प्रतिरोधका कार्यक्रम गर्ने निर्देशन दिने सहमति भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अन्तर्गतकाे सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिँदा पनि त्यसलाई वेवास्ता गरेको भन्दै संविधानको खुलम खुला उल्लङ्घन गरिएको बताउनुभयो ।

नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले आफूहरू सकेसम्म नेकपा एमालेको एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले एमाले एकता गराउन अझै पनि आफूहरू लागिरहेको बताउनुभयो । नेता पाण्डेले अझै पनि एमाले एकताको सम्भावना टुटिनसकेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया