एमालेको खनाल-नेपाल समूहले स्पष्टीकरण नबुझाउने

 जेठ १०, २०७८ सोमबार ८:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो । 

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलले टिप्पणी गर्नुभयो ।

‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक-पटक गरिरहनुभएको छ’ नेता रावलले उज्यालोसँग भन्नुभयो, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण पनि दिँदैनौँ ।’

यस्तै नेता रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताउनुभयो । पार्टीलाई निजी कम्पनीजस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायत विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताउनुभयो ।

आफूहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्दासमेत पार्टीको हित विपरीत गतिविधि बन्द नभएकोले केपी शर्मा ओलीलाई वैध अध्यक्ष मान्न नसकिने र ओलीले नै सबैसामु स्पष्टीकरण दिनुपर्ने उहाँको टिप्पणी छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल-नेपाल समूहका ११ प्रतिनिधि सभा सांसदलाई अस्ति पत्र पठाउनुभएको थियो । 

स्पष्टीकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया