‘ओलीको शासनमा दलाल र भ्रष्ट उत्साहित छन्, जनता भने अपहेलित भए’

 जेठ ११, २०७८ मंगलबार १४:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारवादी सोच र अहङ्कारका कारण पार्टी छिन्न–भिन्न भएको आरोप लगाउनुभएको छ ।

नागरिकले नेपालका कम्युनिस्ट पार्टी एक होऊन् र सुशासनका पक्षमा काम गरून् भन्ने चाहे पनि केपी ओलीले केही षड्यन्त्रकारीकाे उक्साहटमा सिङ्गो नेकपा र एमालेलाई छिन्न–भिन्न बनाएको नेता नेपालका आरोप छ । कार्यकर्ताका नाममा अपिल जारी गर्दै नेपालले नागरिकबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने तथा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिङ्गो कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई उभ्याएको आरोप लगाउनुभएको छ ।

कम्युनिस्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली अपहेलित हुने अवस्था आउनु दुःखद पक्ष हाे नेता नेपालले अपिलमा लेख्नुभएकाे छ । मनपरी र अहङ्कारविरुद्ध बोल्दा केपी ओलीबाट प्रहार भएको र उहाँले गरेको कारबाही औचित्यहीन, अनधिकारिक र अर्थहीन रहेको नेपालले उल्लेख गर्नुभएको छ ।

आफूले व्यक्तिगत रूपमा र सामूहिक रूपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरे पनि ओलीले वास्ता नगरेको बरु प्रतिशोध साँध्ने काम मात्र गरेको नेपालले आरोप लगाउनुभएको छ ।

यस्तै कोरोना महामारीविरुद्ध जुट्नुभन्दा यसलाई हल्का टिप्पणी र गलत सुझाव दिएर बस्दा हजारौँ नेपालीको ज्यान गएको भन्दै नेता नेपालले सिङ्गो देश र नागरिकप्रति यो भन्दा ठूलो अपराध अरू हुनै नसक्ने बताउनुभएको छ । अब सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा लाग्न नेता माधवकुमार नेपालले अपिल गर्नुभएको छ । 

 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया