कांग्रेसकाे आराेप– ‘महामारीकाे आडमा सरकारले राजनीति गर्न खाेज्याे’

 जेठ १२, २०७८ बुधबार १२:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले कोभिड–१९ सङ्क्रमणको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि नागरिकमा त्रास फैलाउने काम गरेको आरोप लगाएको छ ।

बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्डमा बसेको पदाधिकारी बैठकले कोभिड–१९ सङ्क्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि सरकारले कोभिड सङ्क्रमणको नाममा नागरिकमा त्रास फैलाउन खोजेको ठहर बैठकले गरेको छ । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सह–महामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा नागरिकमा त्रास फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकार अघि बढेको बताउनुभयो । उहाँले कोभिड सङ्क्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि सङ्क्रमणको आडमा नागरिकमा त्रास फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार कोभिड सङ्क्रमणलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । नागरिकमा त्रास फैलाउन खोज्दै छ । दुई दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरू गर्दैछ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँ–गाउँमा पीसीआर परीक्षण गर्ने, सङ्क्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि सङ्क्रमणको आडमा नागरिकमा त्रास फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिस सरकारबाट भइरहेको छ । यसको घोर भर्त्सना गरेका छौँ । कोभिड महामारीलाई कम गर्नको लागि सार्थक काम गर्न सरकार केन्द्रित छैन । यो आडमा आफ्नो सत्ता बचाउनका लागि नागरिकमा त्रास फैलाउने काममा मात्रै सरकार केन्द्रित छ ।’

महामारीमा नागरिककाे दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नु भन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवम् भर्त्सना गरेको नेता महतले जानकारी दिनुभयो ।

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड सङ्क्रमितहरूको ज्यान गइरहेका तथा दुर्गम क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रूपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुका साथै कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।

केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाउनुभएको थियो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया