‘अत्यावश्यक सामान अभाव हुन दिँदैनाैँ, घरभित्रै बसी निषेधाज्ञाकाे पालना गर्नुहाेस्’

 जेठ १३, २०७८ बिहीबार १६:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रवारदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । 

बिहीवार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार सङ्घका प्रतिनिधिसँग छलफल गरी आउँदाे एक हप्ता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरी व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई दिएको छ । 

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरेर कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आज नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार सङ्घका प्रतिनिधिसँग छलफल गर्‍याैँ । कोरोनाको सङ्क्रमण दर घटाउनकै लागि हामीले यो निर्णय गरेका हौँ । यस्तो अवस्थामा दाल, चामल तेल, नुनलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड संयुक्त मोबाइल टिम परिचालन गरी स्थलगत रूपमा नै अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेका छौँ । हामी सम्पर्क नम्बरसहितको सूचना निकाल्छौँ, जहाँ–जहाँ आवश्यक परेको छ उहाँहरूले सुपथ र उचित मूल्यमा दैनिक अत्यावश्यक पर्ने सामान खरिद गर्न सक्नु हुन्छ । खाद्य, किराना थोक व्यापार सङ्घका प्रतिनिधिका जानकारीअनुसार अहिले प्रशस्त मात्रामा स्टक छ र आत्तिनुपर्ने अवस्था छैन र हामीले अत्यावश्यक सामग्रीको ढुवानीको व्यवस्था पनि मिलाएका छौँ । अहिले एक हप्ताका लागि चाहिँ यी दुई संस्थाबाट उपभोक्ता संरक्षण मञ्चको पदाधिकारी उपस्थितिमा बिक्री/वितरणको व्यवस्था मिलाइएको छ । सर्वसाधारण नागरिकले किन्नै नपाइने हो कि ? हाहाकार हुने हो कि ? पसलमा छैन कि ? भन्ने चिन्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ ।’ 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट अनलाइन माध्यमबाट यथाशीघ्र खाद्य सामग्री मागको विवरण सङ्कलन गर्ने र त्यहीअनुसार गाडीबाट आपूर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ ।

त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अनलाइनमार्फत गाडीका रुट यकिन गरी स्थानीयस्तरमा पालिकाकाे समन्वय गरी स्थलगत रूपमा नै खाद्य वस्तु उपलब्ध गराउने, कसैलाई खाद्यान्न अभाव भएमा सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने र त्यसको व्यवस्थापन गर्न नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सार्वजनिक सूचना जारी गर्ने, खाद्यान्न आपूर्ति व्यवस्थामा आवश्यक पर्ने गाडी, चालक र कर्मचारीको निर्वाध आवागमनका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने छ ।

मोबाइलबाट खाद्य आपूर्ति गर्ने सम्बन्धमा तोकिएको ठाउँ र रुटका विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट आपूर्ति एवम् सार्वजनिक सूचना जारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

खाद्य आपूर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन नियमित समीक्षा गर्ने र केही समस्या आए तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । उहाँले आपत् विपदमा परेका र अत्यन्तै विपन्न नागरिकलाई खाद्यान्न अभाव भएमा आवश्यक खाद्यान्न वितरणको व्यवस्था मिलाउन सम्बन्धित सबै पालिकालाई अनुरोध गरिने बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्तालाई अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिने गरी मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता र माग भएअनुसार टोल–टोलमा परिचालन गरिने बताउनुभयो ।

खाद्य व्यवस्था व्यापार कम्पनीका विभागीय प्रमुख प्रेम थापाले प्रशस्त खाद्यान्न मौज्दात रहेको र अनलाइन डेलिभरी दिन सक्ने स्थितिमा आफूहरू रहेको भन्दै काठमाण्डौ उपत्यकाका टोल–टोलमा खाद्य सामग्री पठाउन सक्ने व्यवस्थापकीय तयारी गरिएकाले ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

छलफलमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका प्रेमलाल महर्जनले कोभिड–१९ सङ्क्रमणको दोस्राे लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेसँगै खाद्य वस्तुको सहज उपलब्ध गराउने व्यवस्था मिलाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अत्यन्तै सकारात्मक भएको बताउनुभयो । अघिल्लो वर्षको लकडाउन विना पूर्वतयारी गरिएकाले समस्या भएको भन्दै अहिले भने सर्वसाधरणको मागअनुसार स्थानीयस्तरमा नै खाद्यान्न उपलब्ध गराउने विषय सकारात्मक रहेको भन्दै कुनै पनि किसिमले यस निर्णयलाई राजनीतिकरण गर्न नहुने उहाँले तर्क गर्नुभयो ।

जेठ १४ गतेदेखि २० गतेसम्म काठमाण्डाै उपत्यकामा निषेधाज्ञालाई कडाइ गरिएको छ । अत्यावश्यक सेवाबाहेक किराना पसल, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टाेर पनि २० गतेसम्म खोल्न पाइने छैन । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया