भेरी अस्पतालमा सङ्क्रमितको ज्यान गएपछि डाक्टर र नर्समाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

 जेठ १४, २०७८ शुक्रबार ८:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका छन् । हिजो बेलुकी मृतकका आफन्तले कुटपिट गरेपछि अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको ज्यान गएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत एक नर्सका अनुसार कुटपिट हुन थालेपछि डाक्टर र नर्सले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । तनाव बढेपछि अस्पतालमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । अस्पतालकाअनुसार भर्ना हुने बेलामै स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । अस्पतालका डाक्टर र नर्समाथि भएको दुर्व्यवहारको स्वास्थ्यकर्मीले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

कोरोना महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट हुनु लज्जास्पद भएको उनीहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको र यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाएको बताउनुभएको छ ।

उहाँले कोभिडका बिरामीको चाप सरकारी अस्पताललाई थेग्न हम्मेहम्मे परेको भन्दै अस्पतालको साधन स्रोत र जनशक्तिले उपचार सेवामा फरक पर्ने बताउनु भएको छ । यस्तै, महामारीका बेला स्वास्थ्यकर्मीले समेत आफन्त गुमाएकाले यस्तो बेला धैर्य गर्न सिक्नु पर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया