घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
नेपालगञ्जको भेरी अस्पतालमा कोरोना सङ्क्रमित एक जनाको ज्यान गएपछि नर्स र डाक्टरमाथि कुटपिट र दुर्व्यवहार भयो । बिरामीका परिवार र आफन्तले कुटपिट गर्न थालेपछि ड्युटीमा रहेका डाक्टर र नर्सले झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाए । यसैमध्येकी हुनुहुन्छ, नर्स सदीक्षा गैरे । हामीले उहाँलाई हिजो बेलुकी भएको घटनाबारे सोधेका थियौँ ।
उहाँको भनाइ जस्ताको तस्तै :
बेलुकीको आठ बजिसकेको थियो । मसहित तीनजना नर्स र एक जना डाक्टर कोभिड आईसीयू वार्डमा थियौँ । म उनै बिरामीको हेरचाहमा थिएँ । नर्स र डाक्टर अरु बिरामीलाई हेर्दै हुनुहुन्थ्यो ।
दुई, तीन दिनदेखि आईसीयूमा उपचाररत दाङका बिरामीको स्वास्थ्य अवस्था जटिल थियो । बिरामीको मृत्यु भएको हो कि होइन भनेर अन्तिम परीक्षणका लागि ईसीजी गरिएको थियो । म त्यसैको प्रिन्ट निकाल्दै थिएँ । त्यहीबेला एक्कासी होहल्लासहितको एक टोली आईसीयू वार्डमा प्रवेश गर्यो र हामीमाथि कुटपिट सुरु भयो । म आत्तिएँ र कराएँ । नजिकै एक जना चिनेको दाइ हुनुहुन्थ्यो । उहाँ बिरामी लिएर नै आउनुभएको थियो ।
उहाँले मलाई सिस्टर तिमी उता जाउ भन्नुभयो र बाहिर भागेँ । त्यसपछि सबै नर्सलाई डाक्टरहरुले क्याबिनमा लैजानुभयो । बिरामीका आफन्तहरुले अस्पतालको ढोका फोड्न र आक्रमण गर्न छाड्नुभएन । त्यसपछि हामी क्याबिनभित्र रहेको अट्याच्ड ट्वाइलेटमा बस्यौँ । उहाँहरुले क्याबिनको ढोका पनि फुटाउनुभयो । अब ट्वाइलेटकाे पनि टोका फुटाउनुहुन्छ भन्ने डरले हामीले त्यही ट्वाइलेटको झ्यालबाट दुई तला माथिबाट हाम फालेर ज्यान बचायौँ । हाम फाल्दा कसैलाई खुट्टा र कसैलाई ढाडमा चोट लागेको छ । त्योभन्दा ठूलो चोट त कोरोनाको यस्तो महामारीमा फ्रन्टलाइनमा खटिएका सबै डाक्टर र नर्सको मनमा लागेको छ।
बिरामीको अवस्था जटिल बन्दै गएको जानकारी पटकपटक डाक्टरले बिरामीका आफन्तलाई दिनुभएको थियो । तर बिरामीको अवस्था जटिल भएको कुरा सुनाएदेखि नै उहाँहरुले हामीमाथि धम्कीपूर्ण भाषा बोल्दै आउनुभएको थियो । बिरामीको निधन भएको थाहा पाएपछि उहाँहरु आक्रोशित हुनुभएको रहेछ । यस्तो घटना यो अस्पतालमा यसअघि पनि दुई तीन पटक भइसकेको छ।
यो स्वास्थ्यकर्मीमाथि ठूलो अपमानित व्यवहार हो । कोरोना महामारीमा आफ्नो ज्यानको माया मारेर खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने बेला उल्टै दुर्व्यवहार हुनु निकै निन्दनीय छ । दुर्व्यवहार गर्ने व्यक्तिलाई कडा कारबाही हुनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।