राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छु : उपराष्ट्रपति

 जेठ १५, २०७८ शनिबार ८:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी  रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गर्नुभएको छ ।

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर सङ्क्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गर्नुभएको छ ।  उहाँले गणतन्त्र प्राप्तिको क्रान्ति र  आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले भन्नुभएको छ ‘संविधान कार्यान्वयनका क्रममा सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ। तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौँ । एकात्मक, सामन्तवादी, पुराना सोच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ ।’

गणतन्त्रलाई परिष्कृत गर्नका लागि संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य रहेको जनाउँदै उहाँले राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

गणतन्त्र दिवसले गणतन्त्रलाई परिस्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधिनता, राष्ट्रियता सुदृढ, राजनीतिक समस्याको निराकरण र कोरोना भाइरसको महाव्याधि नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने उहाँले  विश्वास व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया