दिवङ्गत आमाको स्मृतिमा बाल्यकालका अनुभव : स्यानी (पुस्तक अंश)

 जेठ १५, २०७८ शनिबार १३:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

साहित्यमा श्रमिक बरालबाट कलम चलाउने खगराज बरालले यसपटक वास्तविक नाम खगराज बरालमार्फत नेपाली साहित्यमा ‘स्यानी’ नामको उपन्यास लिएर आउनुभएको छ । विशेष गरी गीत लेख्न रुचाउने खगराज बरालको ‘स्यानी’ आख्यानतर्फको यो प्रकाशित पहिलो कृति हो । ‘सधैं म त एक्लै परेँ’, ‘अविरल गङ्गा’, ‘मौन आकाश’, ‘श्रमिक बरालका गीतहरू’ जस्ता गीत सङ्ग्रहका साथै ‘सानीको बर्थ डे’ बाल कथा सङ्ग्रह र ‘आँगनीको फूल’ बाल गीत सङ्ग्रह यस अगाडि नै प्रकाशित भइसकेका छन् । 

दिवङ्गत आमाको स्मृतिमा बाल्यकालका अनुभवलाई समेटेर औपन्यासिक मालामा उनेको स्यानी नामको यो कृतिको मुख्य चरित्र नै आमालाई बनाउनुभएको छ खगराजले । लेखक पनि एक मुख्य चरित्रका रूपमा यस उपन्यासमा पाइन्छ । यो उपन्यास लेखकको आफ्नै जिल्ला कास्की र स्याङ्ग्जा जिल्लाको वरिपरि घुमेको छ । भाषा, संस्कृति, चालचलनमा प्रचुर आञ्चालिकताले भरिएको छ । 

००००​

मङ्सिर महिनाको मध्यतिर थियो । रातभर माडेको कोदो सुकाउन र झ्याँटा चुट्न आँगन लिपिएको थियो । माडिसकेको कोदाका बालामा अलिअलि कोदो रहन्थ्यो । त्यही झार्नका लागि आँगनभरि सुकाएर आमाबा कोदाको झ्याँटा चुट्तै हुनुहुन्थ्यो ठुलो लौरीले । बाले झ्याँटामा हानेर झिकेको बेला आमाले हान्नुपर्थ्याे । यसरी झ्याँटामा हानाहान गर्दा ताल नमिले दुवै लौरी ठोकिन्थे । त्यसरी लौरी ठोकिँदा बा रिसाउनुहुन्थ्यो, आमा हाँस्थिन् । बा रिसाउँदा हामीलाई डर लाग्थ्यो । तर, बा जति रिसाए पनि आमासँग झगडा परेको कहिल्यै थाहा पाएनौं हामीले । बाले गाली गरेर, पिटेर आमा रोएको थाहा छैन कसैलाई । झ्याँटा चुटेपछि बाँकी काम गर्न आमालाई छोडेर बा दुहुनी घाँसका लागि नजिकैको बडहरको रुखतिर जानुभयो । बाले छोडेको लौरी लिएर म पनि आमासँगै झ्याँटा चुट्न थालें ।

“यो केटाले के चुट्ला ? अलि दम्को पर्ने अरी हान् न”, आमाले भनिन् । मैले उभिएरै न्वारानदेखिको बल लाएर झ्याँटामा लौरीले हानें ।
“चुट्चस् खाइदेउ ! खान मात्र जानेको छ तिमोर्ले । यसरी पनि झ्याँटाको कोदो झर्च ?” आमाले भनिन् ।
“अहिले सानै छु नि, भोलिपर्सि ठुलो भसी बाका जस्तै दम्को पर्ने गरी चुट्छु नि”, मैले भनें । 
“भोभो छोड् । अब यी झ्याँटाबाट कोदो झर्दैन । चालेर फाल्दिने हो”, आमाले भनिन् । 
“नफाल न आमा ! बाँकी झ्याँटा आङ्नाछेउमा राख्देउ । म चुट्छु र केही गरी कोदो आच भने टोपेसँ नरिवल साट्चु ।” 
आमाले हाँस्तै भनिन्— “लल, राखिदिम्ला । अनि तैंले चुटेसी निगालाको गाँजमा लर फाल्नु नि ।”
“हुन्च, यी झ्याँटामा चैततिर तिजु पकाम्न हुन्च”, मैले भनें ।
तल डहरपरिको खरबारीतिरबाट चिन्नेका फेद हुँदै एउटा ठुलो र एउटा बच्चो टोपे आउँदै थिए । मैले आमालाई “उः टोपे आए” भनें । 
आमाले रिसाउँदै भनिन्— “दुइटा आँसी हालेर गाला च्यातिदिन्चु नि । त्यसो भन्न हुन्च ?”
“अनि के भन्ने त ?” मैले सोधें ।
आमाले भनिन्— “इष्ट भन्नपर्च ।”
मैले मुन्टो हल्लाएर ‘हुन्च’ भनें । ती दुई जना हाम्रो आँगनमै आए ।

“ओ इष्ट, काँट आको ?” आमाले सोधिन् । 
“उः तल मोटरबड झरेर बल्ल गाम् आको”, इष्टले भन्यो ।
“हैन, मुस्ताङबाट हो कि भनेर सोधेको ?” आमाले भनिन् ।
“हो आमा, लोमान्थाङबड आको”, इष्टले भन्यो ।
“केके ल्याच त ?” आमाले सोधिन् ।
इष्टले भने— “जिम्मु छ, बिरेनुन छ, हिङ छ, खिप छ, धागो छ, सियो छ, ज्वानो छ, नलिवल छ, काँचो धागो छ, काँचो सिम्रिक छ, फिड्किरी छ, शिलाजित छ, जटामसी, पाँचऔंले, कस्तूरी, टिम्मुर, धेरै थोक छ ।”
“जिम्मु भनेर लिम्मु पो ल्याच कि ?” आमाले सोधिन् । 
“सत्ते आमा, ढाँट्या छैन”, इष्टले भने । 
“जिम्मु कसरी दिन्च त ?” आमाले सोधिन् । 
“एक पाथी कोदोसँग एक माना जिम्मु दिन्छ”, इष्टले भने ।
“जिम्मु पनि मानामा नापिन्च र ?” मैले आमालाई सोधें ।
“यिनीहरुले त्यसरी नै दिन्चन्”, आमाले भनिन् ।

आमाले निफानेको कोदो डालीमा राखेकी थिइन् । भित्रबाट डाली ल्याएर एक पाथी कोदो भरेर दिइन् । इष्टले झोलाबाट टिनको माना झिक्यो र एक माना जिम्मु नाप्न थाल्यो ।
“जा, भित्रबाट थाल लेरा ।” आमाको बोली भुइँमा नखस्तै मैले थाल ल्याएँ । 

इष्टले मानामा भरेको जिम्मु थालमा खन्याइदियो । आमाले अलिकति जिम्मु हातमा लिएर सुँघिन्— “बास्ना त पिउर जस्तै आछ । राम्रै होला । मासको दाल घिउमा यो जिम्मुले झानेपछि स्वाद जिभ्रोमै झुन्डिन्च ।”
“अरु क्यै नलिने आमा ?” इष्टले सोधे । मैले आमालाई खिप लिइदिन भनें ।
आमाले सोधिन्— “एक माना कोदामा कतिओटा खिप दिन्च इष्ट ?”
इष्टले भने— “एक मानाको सातोटा ।”

म फुरूक्क भएँ । कमिज, जाँगेको बटम फुस्किँदा र हात खुट्टामा काँडा बिझ्दा खिपले निकै सहयोग दिन्थ्यो । आमाले एक माना कोदामा सातोटा खिप किनिन् । तर, मलाई तीनोटा मात्र दिएर अरु आपैmले राखिन् ।
इष्टसँगै आएको केटाले बाले व्यापार गरेको हेरिरह्यो ।
“ओ इष्ट, त्यो तिम्रो छोरो हो ?” आमाले सोधिन् । 
“हो आमा ! माथि हाम्रोतिर हिम परेको छ । अहिले हाम्रो सबै तलै झरेको छ । सबै यस्तै व्यापार गर्ने हो । यस्को स्कुल पनि बन्द छ । माटाहरु सबै तल आको छ । हाम्रोतिर पढाउने माटाहरु सबै तलकै हो नि”, इष्टले भन्यो ।
“तिम्रो छोरो र मेरो छोरो उत्रै रचन् । मित लाइदिने कि ?” आमाले भनिन् ।
इष्टले भन्यो— “हुन्छ, मित लाउने । अलि पछि । मेरो बुडी पनि आको बेला मित लाउने ।”
मैले इष्ट र उनका छोरालाई हेरिरहें । इष्टले कपाल कोरेर दुई चुल्ठा बाटेका थिए, त्यसमाथि उनीको टोपी । बाक्लो कपडाको बक्खु र बाक्ला न बाक्ला जुत्ता लाएको थियो । कम्मरमा चुप्पी थियो, हातमा लौरो । काँधमा धेरै थोक राखेको ठूलो झोला र हातमा बोरा थियो । कपालको चुल्ठो बाटेको छोरो छोरी जस्तै देखिन्थ्यो, चिन्नै गाह्रो । उसले सानो झोला बोकेको थियो । ‘नाकमा सिँगान बगिरहेको केटासँग कसरी मित लाउने होला’ भनेर सोच्तै थिएँ । आमाले नलिवल लिने कुरै नगरेपछि भनें— “आमा, एउटा नरिवल लिइदेउ न ।”
इष्टले भने— “छ छ, नरिवल पनि छ ।”
आमाले ‘पछि लिने’ कुरा गर्दै सोधिन्— “इष्ट, फेरि फेरि आम्दैन र ?”

“आम्छ, आम्छ । ऐले माथि गाम्मा जान्छ । फेरि आम्छ ।” इष्टका बाबुछोरा लौरी हातमा लिएर गए ।
इष्टहरु गएपछि आमाले भनिन्— “त्यो झ्याँटा चुटेकै छैनस् । त्यो चुट् अनि त्यस्मा आको कोदोले किन् नरिवल । ऐल्यै हैन । पछि किन्लास् ।”
“यिनीहरुलाई किन इष्ट भनेको आमा ?” मैले सोधें ।
“यिनीहरुलाई टोपे, भोटे भन्ने होइन । यिनोरू टोपे होइनन्, इष्ट भन्न पर्च । यिनोरू भोटका हुन् ।”
“भोट काँ पर्च ?”
“भोट भनेको मुक्तिनाथभन्दा नि माथि पर्च ।” 
“अनि किन इष्ट भनेको ?”
“खानामा नुन चाहिन्च कि चाहिन्न ? नुन नभए के हुन्च ?”
“अल्नु हुन्च ।” 
“अनि नुनबिना खाना खान सक्चस् ?”
“सक्तिनँ । तिम्ले पनि सक्तिनौ नि ?”
“अल्नु खान कस्ले सक्च र ! नुन बार्दा त कैले खान पाइएला जस्तो हुन्च । पैला त नुन याँ पाइन्थे न नि । बाहिरबाट ल्याम्नुपर्थो ।”
“नुन लिन काँ जान्थे नि आमा ?”
“घरमा चाहिने नुन लिन हाम्रा जिजुबराजु भोट जान्थे रे । अहिलेको जस्तो पोखराँ, तल देवीलाल ठुलाबाकाँ किन्न पाए जस्तो सजिलै नुन पाइन्थेन नि पहिले ।”
“अनि नुन काँबड ल्याम्ते त !”

“तेरा हजुरबाका पनि हजुबाहरु, मेरा माइतीतिरका पनि हजुरबाका पनि हजुरबाहरु नुन लिन भोट जान्थे । तो बेलाँ यता तलतिरको बाटो खुलेकै थेन रे । भोट गएर नुन ल्याम्न दश–पन्ध्र दिन हिन्नुपर्थो रे । भोटमा नुन लिन गाम्का बलियाबाङ्गाहरु जान्थे रे । नुन बोक्न जाने भनेर पहिल्यैदेखि घ्यु खार बस्ते रे । याँट हिँडेर मुक्तिनाथभन्दा नि दुई–तीन दिन टाढा जानुपर्थो रे । यिनै इष्टहरुकाँ वास बस्नुपर्थो । यता बाहुनहरु अरुले पकाको नखाने । इष्टहरुले दाउरा र भाँडा दिन्थे रे । यताट लगेको चामल, गुन्द्रुक, मस्यौरा पकार खान्थे रे ।
इष्टहरु भन्ते रे— ‘जिरो हाल, पिरो हाल, मेरो नहाली हुन्न तिमोर्लाई ।’

नुन नभई त मुन्छेलाई हुँदै हुन्न, गाईभैंसीलाई त चाहिन्च । अनि चामलसँग नुन साट्थे र बोकेर ल्याम्थे रे । हेर बाबै ! उहिले सारै दुख थ्यो । यिनीहरुलाई हाम्राले वास बस्नकै लागि इष्ट बनाका हुन् । तेसो भर इष्ट भनेको । त्यै बेलादेखि यिनर्लाई इष्ट भन्न थालेका रे । भोटका मुन्छे भकाले भोटे भन्या होला । भोटे भन्दा त अलि नराम्रो लाग्च होला । टोपे त सफासुग्घर नगरेकालाई भन्चन नि त !”

“अनि कैलेदेखि नुन लिन जानु परेन ? उ बेलाँझैं भए त हामी पनि जानुपर्थो होला है ?”
“पछि तलतिर इन्डियामा रेल चलो, बाटो खुलो, अनि बटौलीसम्म हिँडेर नुन बोकेर ल्याम्थे । यो त तेरा हजुरबाले नि गरेका हुन् रे । मेरा मावलका हजुरबाले बटौलीबाट नुन ल्याको त मलाई नि सम्झना छ । इन्डियामा समुन्द्रको नुनिलो पानी सुकार नुन बनाका हुन् रे ।

अहिले त नुन जताततै पाइन्च । ढिके नुन, धुलो नुन, आयो नुन सबै । अहिले तिहारमा र बेला बेलाँ बाले भैंसी र गोरूलाई पनि ढुम्रीले नुन खुवाउनुहुन्च ।”
आमाले मलाई इष्ट मात्र चिनाइनन्, कोदोसँग नरिवल साटेर किनी खान झ्याँटा पनि छुट्याइदिइन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Yamuna khulal

    May 30, 2021, 5:18 p.m.

    अामाकाे माया मिस्सिएकाे स्यानि उपन्यास राम्रो लाग्याे ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया