अन्तिम समयमा भेरोसेल खोप पाउने उमेर समूह परिवर्तन

काठमाण्डौमा ६० देखि ६४ र काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्षकालाई खोप

 जेठ २४, २०७८ सोमबार १८:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मङ्गलवार (भोलि) देखि ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने भने पनि अन्तिम समयमा आएर यो परिवर्तन भएको छ ।

काठमाण्डौ उपत्यकामा भने ६० देखि ६४ वर्षका नागरिकलाई खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको उपलब्धताका कारण काठमाण्डाै उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिइने छ ।

खोपको अभाव रहेकाले जोखिमलाई मध्यनजर गरेर प्राथमिकताका आधारमा ६० देखि ६२ को साटो ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिन लागिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने भन्दै ६२ देखि ६४ वर्षकालाई खोप दिन लागिएको हो ।

चीनले केही दिनअघि अनुदानमा पठाएको १० लाख डोज खोप भोलिदेखि देशभर लगाइँदैछ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक चार लाखभन्दा धेरै छन् । यसले गर्दा चीनबाट आएको खोपले दोस्रो डोज दिन पनि पुग्छ । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।

यसैबीच कोभिसिल्ड खोपको दोस्रो मात्रामा लगाउन बाँकी रहेकालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्वास्थ्य मन्त्रालय बताए पनि खोप कहाँबाट ल्याउने भन्ने टुङ्गाे लागेको छैन । सरकारले खोप खरिदका लागि अमेरिका, चीन, रुस, डेनमार्क लगायत देशमा पहल गरे पनि खोप खरिदको टुङ्गो नलागेको हो ।

नेपालमा ६५ वर्षमाथिका १४ लाखभन्दा धेरै नागरिक कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा छन् ।   

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Subhash Bhusal

    June 7, 2021, 6:22 p.m.

    ६५ बर्ष माथी पहिलो खोप छुटेकाको लागि के व्यवस्था होला?

  •  0 Reply

तपाईको प्रतिक्रिया