चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्री ओलीको आग्रह

 जेठ २८, २०७८ शुक्रबार १९:८:४० | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन-कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिनुभएको छ ।

चिकित्सा शिक्षा आयोगको साताैं बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, 'हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यमस्तरको जनशक्ति चाहिन्छ ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ ? यसको हिसाब हुनुपर्छ र त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।' यस आयोगको विगत दुई वर्ष सन्तोषजनक नभएकाले प्रभावकारी काम गर्न उहाँले निर्देशन दिनुभयो । 

उहाँले त्यसरी आवश्यकताको पहिचान गरी जनशक्ति उत्पादन भएमा रोजगारीको पनि समस्या नहुने बताउँदै अस्पतालमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत जनाउनुभयो ।

'गाउँमा अहिले पनि महिला स्वास्थ्य स्वयंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । सहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन् । त्यसैले ती ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा पनि ठूलै उपलब्धि हुन्छ' प्रधानमन्त्री ओलीको भनाइ थियो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमतर्फ औँल्याउँदै प्रधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गर्नुभयो । कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भर पर्ने जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, 'त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेका विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ, यसमा ध्यान दिनुपर्छ' उहाँले थप्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया