महामारीमा निःशुल्क मनोपरामर्श सेवा

 असार २, २०७८ बुधबार १२:५२:२२ | रोनी प्रधान
unn.prixa.net

नेपालमा कोरोनाको दोस्रो लहरले धेरै मानिसमा छटपटी बढाएको छ । पहिलो लहरमा भन्दा मानिसमा झन् धेरै डर, चिन्ता र त्रास भएको छ ।

सङ्क्रमित भइसकेका र नभएकालाई पनि हुन्छ कि भन्ने डर छ । महामारीको यो अवस्थामा  सृजना भएका मानसिक समस्याहरू सम्बोधन गर्न सुरक्षित आप्रवासन परियोजना सामीले मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सामी परियोजना स्विस सरकार र नेपाल सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा देशका १५६  पालिकाहरूको नेतृत्वमा सञ्चालन भइरहेको छ । परियोजनालाई प्राविधिक सहयोग हेल्भटास नेपालले उपलब्ध गराइरहेको छ ।

३९ जिल्ला सामी परियोजनाको कार्यक्षेत्र हो र मनोपरामर्श कार्यक्रम चाहिँ १५२ पालिकाहरुमा सञ्चालित छ । एउटा पालिकामा एक जना मनोपरामर्शकर्ता कार्यरत हुनुहुन्छ ।

यो महामारीको समयमा पालिकाहरूले पनि एकदमै चासोका साथ यो मनोपरामर्श कार्यक्रम अघि बढाइरहनुभएको छ । मानिसको मनको कुरा सुन्ने यो काम महामारीको समयमा हामीले दुई तरिकाले अघि बढाइरहेका छौँ । टेली काउन्सिलिङमार्फत र कतिपय आइसोलेसन सेन्टरहरूमा पनि गएर परामर्श प्रदान गर्ने काम भइरहेको छ ।

३९ जिल्ला सामी परियोजनाको कार्यक्षेत्र हो र मनोपरामर्श कार्यक्रम चाहिँ १५२ पालिकाहरुमा सञ्चालित छ । एउटा पालिकामा एक जना मनोपरामर्शकर्ता कार्यरत हुनुहुन्छ ।

यो समयमा देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लागू छ । सबै ठाउँमा र मानिसको घरघरमा पुग्न सक्ने अवस्था छैन । फेरि रोग सङ्क्रमणबाट पनि बच्नुपर्ने भएकाले स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरू अपनाएर आवश्यकता अनुसार परियोजनामार्फत पालिकाको अनुरोधमा आइसोलेसन सेन्टरहरूमा नै गएर पनि मनोपरामर्श प्रदान गरिरहेका छौँ ।

कोरोना सङ्क्रमण भएका कतिपय व्यक्तिहरू पनि अहिले त घरमै बसिरहनुभएको छ । उहाँहरूलाई पनि फोनमार्फत परामर्श प्रदान गरिरहेका छौँ । 

महामारीमा आवश्यकता परेका सबैलाई परामर्श प्रदान

सामी परियोजनाले सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमहरू मध्ये मनोसामाजिक परामर्श पनि एउटा नियमित कार्यक्रम हो  । कोरोना कहर सुरु हुनुअघि वैदेशिक रोजगारीको कारण सृजना भएको मनोसामाजिक समस्या सम्बोधन गर्नु यो कार्यक्रमको उद्देश्य थियो ।

वैदेशिक रोजगारीमा जानुभएका दाजुभाइ दिदीबहिनी, उनीहरूका आमाबुवा, छोराछोरी, श्रीमती, दाजुभाइ दिदीबहिनी र परदेशबाट फर्किएका श्रमिक स्वयं पनि यो कार्यक्रमको लक्षित समूह हुन । उहाँहरूलाई मनोपरामर्शकर्ताहरुले घरघरमै गएर परामर्श प्रदान गर्नुहुन्थ्यो ।

अहिले दोस्रो लहरमा पनि परियोजनामार्फत २ हजार ३१ जनालाई टेलिफोनमार्फत परामर्श प्रदान गरिएको छ भने आइसोलेसन सेन्टरहरूमै गएर २ सय ३० जनालाई प्राथमिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

तर कोरोना महामारीले अहिले एक खालको असामान्य परिस्थिति सृजना गरेको छ । त्यस कारण अहिलेको यो महामारीमा परदेशी र उनीहरूको परिवारका सदस्य सँगसँगै आवश्यकता परेका सबैलाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान भइरहेको छ । जसका लागि पालिकाहरूले पनि आवश्यकता अनुसार समन्वय गरिरहनुभएको छ । पहिलो लहरमा पनि परियोजनामार्फत यसै गरी प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको थियो ।

गएको वर्ष महामारीको समयमा १३ हजार ७ सय ९४ जनालाई क्वरेण्टीन स्थलमै गएर परामर्श दिइएको थियो भने फोनमार्फत १६ हजार ७ सय ३१ जनालाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको थियो । 

अहिले दोस्रो लहरमा पनि परियोजनामार्फत २ हजार ३१ जनालाई टेलिफोनमार्फत परामर्श प्रदान गरिएको छ भने आइसोलेसन सेन्टरहरू मै गएर २ सय ३० जनालाई प्राथमिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

एक पालिका एक मनोपरामर्शकर्ता

सामी परियोजना सञ्चालित १५६ पालिका मध्ये १५२ पालिकामा १५२ जना नै मनोपरामर्शकर्ताहरु कार्यरत हुनुहुन्छ । अहिले त पालिकाहरूले पनि यो कार्यक्रमको महत्त्वलाई आत्मसाथ गर्नुभएको छ ।

पालिकाले नै आवश्यकता अनुसार परिचालन गरी आइसोलेसन सेन्टरमै परामर्श प्रदान गरिरहेको छ । पालिकाहरूमा कार्यरत मनोपरामर्शकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने र सुपरिवेक्षण गर्ने काम चाहिँ सामी परियोजनाको साझेदार संस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले गरिरहेको छ । 

महामारीकै समयमा पनि परामर्शकर्ताहरुले फेस टु फेस पनि र टेलिफोनमार्फत पनि दिइरहनुभएको छ । केश अनुसार कतिपय केशमा त २४ सैं घण्टा पनि फोन उठाएर मनोपरामर्शर्ताले परामर्श प्रदान गरिरहनुभएको छ । 

यस्तै अहिले श्रम गन्तव्य देश कतारबाट उडान सुरु भएको छ । परियोजनाले गन्तव्य देशबाट फर्कनुभएका दाजुभाइ दिदीबहिनीलाई पनि मनोपरामर्श सेवा प्रदान गर्ने योजना बनाइरहेको छ । 

निःशुल्क परामर्श प्रदान

कोरोनाको कारण मानिसहरू डराएको अवस्था छ । अहिले गन्तव्य देशमा अघिल्लो वर्षजस्तो महामारीको अवस्था नभए पनि नेपालमा फैलिएको कोरोनाको कारण परदेशीलाई पनि चिन्ता भइरहेको छ । कतिपय परदेशीले आफन्त गुमाउनुभएको छ भने कतिपय आफन्त सङ्क्रमित हुनुभएको छ ।

यो अवस्थामा परदेशी र परिवार दुवैमा डर र चिन्ताको अवस्था छ । यदि तपाईँलाई पनि यस्तो समस्या छ भने आउनुहोस् निःशुल्क सेवा लिनुहोस् भन्न चाहन्छौं । किनकि मानसिक समस्या भनेको लुकाउने कुरा हैन । आज लुकाउँदा भोलि अर्को समस्या सृजना हुन्छ । त्यसैले तपाईँलाई भएका समस्या फोन गरेर भए पनि मनोपरामर्शकर्ताहरु समक्ष राख्नुहोस् ।

आप्रवासी स्रोत केन्द्रहरूको सम्पर्क नम्बर सामी परियोजनाको फेसबुक पेज ‘सेफर माइग्रेसन प्रोजेक्ट फेज ३ ’ बाट लिन सक्नुहुन्छ । 

तपाईँको पालिकामा नै मनोपरामर्शकर्ताहरु हुने भएकाले तपाईँलाई यदि कुनै पनि समस्या भएको छ भने आफ्नो जनप्रतिनिधिलाई भनेर पनि मनोपरामर्शकर्ता समक्ष पुग्न सकिन्छ । 

किनकि अहिले पालिकाले पनि मनोसामाजिक परामर्श कार्यक्रमलाई चासोका साथ अघि बढाइरहेको छ । पालिकाहरूले आफ्नो सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममार्फत मनोपरामर्शकर्ताहरुको सम्पर्क नम्बर उपलब्ध गराइरहेका छन् ।

यस्तै, अहिले जिल्लामा आप्रवासी स्रोत केन्द्रहरू छन् । आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गरेर पनि यो सेवा बारे जानकारी लिन र परामर्शकर्ताको सम्पर्क नम्बर लिन सक्नुहुन्छ । स्रोत केन्द्रमा रहनुभएका परामर्शकर्ताले मनोपरामर्शकर्तासँग तपाईँलाई जोड्ने काम गर्नुहुन्छ । आप्रवासी स्रोत केन्द्रहरूको सम्पर्क नम्बर सामी परियोजनाको फेसबुक पेज ‘सेफर माइग्रेसन प्रोजेक्ट फेज ३ ’ बाट लिन सक्नुहुन्छ । 

र अन्त्यमा, यो परिस्थितिको कारणले गर्दा डर, चिन्ता त्रास हुनु स्वाभाविक नै हो । त्यस कारण तपाईँहरूलाई पनि यस्तो समस्या देखिएको छ भने मनोपरामर्श सेवा लिनुहोस् भनेर फेरि पनि अनुरोध गर्न चाहन्छु । 

(प्रधानसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख २, २०८१

रोनी प्रधान

रोनी प्रधान सुरक्षित आप्रवासन परियोजना सामीमा आप्रवासी स्रोत केन्द्र तथा मनोसामाजिक परामर्श कार्यक्रम संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया