सामाजिक सञ्जालको लत र छुटकारा पाउने उपाय

 असार ३, २०७८ बिहिबार १५:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

हामीले सामाजिक सञ्जालको प्रयोग गर्न थालेको धेरै भएको छैन । झन्डै एक दशकमात्र हुँदैछ । हिजो–आज सामाजिक सञ्जालमा अधिकतम समय बस्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यही सामाजिक सञ्जालले मानसिक स्वास्थ्य समस्या पनि देखिन थालेको छ । हामीले विचार पुर्‍याएर यसको सही प्रयोग गर्‍याैँ भने यसको लतबाट सजिलै बच्न सकिन्छ । 

लतमा फसेको यसरी थाहा हुन्छ

हामीले चाहेको वा चाहिएको भन्दा बढी समय यसैमा बिताउन थाल्यौँ, दिनभरि सामाजिक सञ्जालको मात्र कुरा दिमागमा आइराख्यो, त्यसको मात्र प्रयोग गरौँ–गरौँ लाग्यो भने सामाजिक सञ्जालको लतमा फसेको थाहा पाउनुपर्छ । समय पनि त्यसैमा धेरै बितायो र यसैका कारण आफ्नो गर्ने काम छुटेको छ अथवा मैले छोड्न खोजिरहेको छु तर सकिरहेको छैन भने यो सामाजिक सञ्जालको लत हुन सक्छ । यो लत बसिसकेपछि एकैछिन चलाउँछु भन्यो चलाउन बस्यो तर छोड्नै नसक्ने हुन्छ । 

यसका लागि आफैँले आफैँलाई मैले कत्तिको सामाजिक सञ्जाल प्रयोग गरिरहेको छु भन्ने कुरा याद गर्नुपर्छ । तपाईँले आधा वा एक घण्टा प्रयोग गर्नुभयो अनि आफ्नो काम सक्नुभयो र हिँड्नुभयो भने यो लत हैन । तर तपाईँले प्रयोग गरेको/नगरेको बेला पनि त्यसैको मात्र याद आइरहेको छ अथवा त्यसैको प्रयोग गरौँ–गराैँ लागिरहन्छ भने  यो सामाजिक सञ्जालको लत हो । 

यसबाट पर्ने असर

यसमा मुख्य गरेर दुई वटा कुरा हुन्छ । एउटा पहिले नै तनाव भइरहेको मान्छेले तनाव व्यवस्थापनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छ भने अर्को सामाजिक सञ्जाल प्रयोग गरेर नै तनावमा परिरहेको हुन्छ सामाजिक सञ्जाल प्रयोग गर्दा कतिपयको निद्रामा समस्या भएको अध्ययनले पनि देखाएको छ । जस्तै:- राति सुत्ने समयमा, आराम गर्ने समयमा सामाजिक सञ्जाल प्रयोग गरेपछि आराम कम हुने हुन्छ ।

योबाहेक अरू चिन्ताको लक्षण अथवा उदासीनताको लक्षण हुने पनि अध्ययनले देखाउँछ । अहिले सामाजिक सञ्जाल प्रयोग गर्नेहरू धेरैले एक्लोपना भएको बताउने गर्छन् । सामाजिक सञ्जाल प्रयोग गरेर एक्लोपना बढेको पनि हुन सक्छ । अथवा एक्लोपना भएर सामाजिक सञ्जालको प्रयोग गरेको पनि हुन सक्छ । यसले मानसिक स्वास्थ्यसँग सम्बन्ध राख्दछ । 

सामाजिक सञ्जाल कति समयसम्म चलायो भने यसले मानसिक स्वास्थ्यमा असर पार्छ भन्ने समयमात्र ठ्याक्कै भन्न सकिँदैन । तर सामान्यतया तपाईँ आधा घण्टा, एक घण्टा चलाउनुभयो र त्यसपछि बन्द गर्न सक्नुभयो भने तपाईँ ठिकै हुनुहुन्छ । तर चलाइसकेपछि लगातार घण्टौँसम्म चलाउने र दिनभर रातभर चलाइ राख्नुपर्ने भयो भने यो बढी हुन्छ । 

सर्वेक्षणमा केही विद्यार्थी र युवालाई तपाईँले हप्तामा कति समय सामाजिक सञ्जाल चलाउनुहुन्छ भनेर सोध्दा कतिले हप्ताको ३०/३५ घण्टासम्म चलाउँछौ भनेर भनेका छन् । यो भनेको दिनको चार/पाँच घण्टा हुन्छ ।दिनको चार/पाँच घण्टा भनेको पनि धेरै हो । हुन त कामअनुसार पनि फरक हुन्छ । हिजोआज कतिपयको सामाजिक सञ्जालमै मात्र काम गर्नुपर्ने हुन्छ । तर त्योबाहेकको अरू पाँच घण्टा भनेको धेरै नै हो । आधा घण्टा, एक घण्टा, डेढ घण्टा र सबैले मेरो लागि स्वस्थ चाहिँ यति हो है भन्ने चाहिँ बनाउनुपर्छ । 

सामाजिक सञ्जालको विकल्प के ?

हुन त सामाजिक सञ्जालले हामीलाई धेरै सजिलो पनि पारेको छ । यसको प्रयोगले कतिपयमा साथीभाइसँग कुराकानी गर्ने र एक्लोपना, चिन्ताको समस्या घटाएको पनि छ । तर कतिपयमा यसले झन् समस्या बढाएको पनि छ । 

कतिपय घरमा एक्लो बस्नेहरू अथवा एक्लो बस्ने बानी भएकाहरूले पनि सामाजिक सञ्जाल अलि बढी प्रयोग गरेको भन्ने पनि छ । सामाजिक सञ्जालको प्रयोग कम गर्न सबैभन्दा पहिले के गर्ने भन्ने योजना बनाउनु पर्‍याे । अर्को, मैले अहिले जति प्रयोग गरिरहेको छु अब यसमा कति घटाउन सकिन्छ त भन्ने आफ्नो व्यक्तिगत योजना बनाउने र त्यो घटाउनका लागि प्रयास गर्ने गर्नुपर्छ ।

हिजोआज  डिभाइसहरूमै कसरी आफ्नो समय बनाउने, कसरी आफूलाई तालिकामा राख्ने भनेर विभिन्न एपहरू हुन्छ । यी एप मोबाइल, कम्प्युटर, ल्यापटपमा पनि राखेर त्यहीअनुसार काम गर्न सकिन्छ । चटक्कै छोड्न सकिन्न तर नियन्त्रण चाहिँ गर्न जरुरी छ ।

हामीले सामाजिक सञ्जालको सही उपयोगमा जोड दियौँ भने अधिक र गलत उपयोग घट्दै जान्छ । राम्रो सूचना, सबैले थाहा पाउनुपर्ने कुराहरू, अरूलाई सहयोग हुने कुराहरू सामाजिक सञ्जालमा राख्ने गर्‍याैँ भने सबैलाई काम लाग्छ, कसैलाई असर पनि पर्दैन ।

(त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका चिकित्सा मनोविद् डाक्टर सुरज शाक्यसँग कार्यक्रम स्वस्थ मन, स्वस्थ जीवनका लागि गरिएको कुराकानीमा आधारित  ।)   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया