कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
नेपालको राजनीतिक इतिहासमा चर्चित झापा आन्दोलनका एक कार्यकर्ता जीवन मगरको ६३ वर्षको उमेरमा निधन भएको छ । गएको बिहीवार घरको शौचालयमा लडेर घाइते भएका उहाँकाे वीर अस्पतालमा उपचारका क्रममा सोमवार निधन भएको हो ।
झापाकाे गरामनी घर भएका उहाँ पछिल्लो समय पत्रकारितामा संलग्न हुनुहुन्थ्यो । मगर झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ पर्नुभएको थियो । त्यतिबेला उहाँको उमेर १६ वर्षभन्दा कम भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो । नख्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनामा उहाँ पनि हुनुहुन्थ्यो ।
विद्यार्थीकालमै क्रियाशील राजनीतिक आन्दोलनमा लाग्नुभएका मगरलाई झापा आन्दोलनका अगुवाहरूले ‘झापा सङ्घर्षका बाल सिपाही’ पनि भन्ने गर्छन् । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि उहाँ राजनीति छोडेर पत्रकारितामा लाग्नुभएको थियो ।
‘नख्खु जेल विद्रोह’ पुस्तकमा मगरले ‘नख्खु जेलको अपूरो कथा’ यसरी उल्लेख गर्नुभएको थियो:
चालीसौँ वर्ष पाइला टेकेछ । दशकौँ पुराना पाइलाहरू.... हिजोझैँ, आजझैँ लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कति औँ दिन, कति औँ रात बिते । एउटा मानिसको चालीस वर्ष-जीवनको उर्बर वर्षहरू । बर्सेनि आउँथ्यो, जान्थ्यो– त्यो महिना चैत । सम्झना हुन्थ्यो, त्यस रातको अनि बिस्तारै बिर्सनातिर पुग्थ्यो । लोकले चर्चा गर्थ्यो, कथाहरू बुनिन्थ्यो अनि फेरि ओझेल पर्दै जान्थ्यो । स्मरण हुने, अझ नयाँ चेतमा स्मरण हुने, लोक–चर्चा थपिँदै जाने, त्यसरी नै गोधूलि पर्दै विलीन पनि हुने ।
त्यो बेलाको अर्कै संसार, थियो अर्कै नेपाल । कति जोर भोटा–कछाड फाटे, कति औँ क्युसेक पानी बहे । र अहिलेको यो संसार, यो नेपाल । इतिहास रहेछ यो त, बिर्सँदै नबिर्सने ऐतिहासिक । वर्षहरू थपिँदै जान्छन्, पत्रपत्र भएर थपिँदै नै जान्छन् । यो वर्ष– २०७३ साल चैत्र १२ भने केही भिन्न भएरै आयो । कताकति केही लिएरै आयो । ओल्ड इज गोल्ड’ भने जस्तो जति पुरानो उति चमक लिएर आयो । ‘चालीस वर्ष भएछ है कमरेडहरू नख्खु जेल ब्रेक...’ घडीको सुई देखाउँदै हुनुहुन्थ्यो कमरेडहरू । धन्य–धन्य कमरेडहरू, उहाँहरू मेरो मनमा छपक्कै बस्नुभयो । कौतुहल मनले भन्न मन पनि लाग्यो यो चालीसौँ वार्षिकोत्सव मेरा जीवनका अनन्त पाइलाहरू..., वर्षहरूका लामा–लामा मालाहरू....र मेरी श्रीमतीकै उमेर पछ्याउँदै आएको यो चालीस वर्षको आगामी पाइलाहरूले नयाँ “सन्देश दिएरै जाओस्।''
नक्खु जेल—राजनीतिक बन्दी गृह । जहाँ हामी झापाली कम्युनिस्टहरूलाई थुनिएको थियो । झापालीहरूलाई थुन्न पाउँदा शासकहरू हाइसञ्चोमा थिए । र झापा विद्रोह सधैँका लागि दमन गर्याैँ भनी सोचेका थिए । तर शासकहरूलाई यो मालुमै भएन कि हामी अर्कै तत्त्वका मानिस हौँ। हामी जेल–ब्रेकको अनुकूल समय पर्खिरहेका थियौँ । त्यो समय पनि अनेकाैँ गौँडा छिचोल्दै लुक्तै—छिप्तै आयो । त्यस समय नख्खु जेल कमिटी (कोके) को सचिव म थिएँ । जेल–ब्रेकको छलफल चल्दा–चल्दै एक दिन हाम्रो पङ्क्तिमा नियास्रो छायो । यसकारण कि जेल प्रशासनले अन्यायपूर्वक कमरेडहरू एमसी, आरके र केपीलाई जेल सरुवा गर्याे । र पनि हाम्रो योजनालाई मूर्तरूप दिन हामी लागिरह्यौँ । एउटा थाती रहेको काम थियो– पार्टी सदस्यता प्रदान । कमरेडहरू सूर्य कन्दब्वा, धर्म घिमिरे, भीष्म धिमाल र नारद वाग्लेलाई पार्टी सदस्यता प्रदान ।
कमरेडहररु गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल र वीरबहादुर लामाको पार्टी सदस्यता नवीकरणका साथ सामूहिक शपथ ग्रहण भयो । त्यसपछि जेलब्रेकको प्रस्तावमाथि केन्द्रित भयौँ। ब्रेकका अनेकौँ बाटाको छलफल सँगसँगै कमरेड वीरबहादुर र माधवले सुरुङको आइडिया पेस गर्नुभयो । यो बाटो सफल भए कम क्षति हुने वा पूर्ण सफल हुने देखियो । अन्य बाटालाई तपसिलमा राख्दै सुरुङको अभ्यासमा जाने मत पास गरियो । अभ्यासमा जाँदा असम्भव हुने भए अन्य बाटालाई मध्यनजर दिने टुङ्गो भयो । तुरुन्तै जेल कमिटीले सुरुङ खन्ने योजना बनायो र चार नम्बर ब्लकबाट खन्ने निर्णय भयो । कार्य नेतृत्वको निम्ति मैले सचिवको कार्यभार कमरेड सीपीलाई हस्तान्तरण गरेँ। अब ठोस निर्णय भएपछि ठोस कार्यमा जुट्नु थियो । हामी कोही पनि इन्जिनियर पढेका थिएनौँ ।
सुरुङबारे हाम्रो प्राविधिक ज्ञान पनि थिएन । न त कसैलाई सुरुङ खनेको अनुभव थियो । चिनियाँ क्रान्तिमा सुरुङ युद्धको कथा पढेका–सुनेका चाहिँ थियौँ । हामीले सुरुङको खाका तयार गर्याैँ आफ्नै अभ्यासमा खन्ने निधो गर्याैँ ।
सुरुङ खन्ने कोठामा आँखा छल्न खरायो पाल्नुपर्थ्यो । एक गोठ खरायो र सुरुङ खन्न लाग्ने जिन्सी सामानको जोरजाम कमरेड हर्कले गर्नुभयो । तीन वटा खरायोको खोर बनिसकेको थियो र दस वटा खरायो खेल्न थालिसकेको थियो । अब झट्टै कमरेड सीपी, हर्क, वीरबहादुर र म कोठामा छिर्याैँ । एउटा खोरबाट सुरुङको ढोका निर्माण गर्नु थियो । कमरेड हर्क र वीरबहादुर किसान चरित्रका व्यावहारिक मान्छे, उहाँहरूले तीन फिट खनी सुरुङको मुख बनाउनुभयो । सुरुङमा घर्राको ढोका पनि निर्माण गर्नुभयो । यो काम हाम्रो पङ्क्तिभित्र पनि अत्यन्त उच्च गोपनीयताका साथ भएको थियो । यो थियो–फागुन १० गतेको दिन, जहाँ सुरुङको शिलान्यास भयो—जेल विद्रोह जिन्दावाद ...मुठ्ठी कस्दै एक स्वरमा गुञ्जियो ।
त्यो योजना । मेलम्चीको सुरुङ जस्तो कथैकथा पनि थिएन । अनि ठेकेदार र इन्जिनियरको जस्तो 'ढिलासुस्त’ गर्नु पनि थिएन । वैज्ञानिक उपकरणहरू, मेसिनहरू, औजारहरू हाम्रा हातमा थिएनन् । थियो त सिर्फ एउटा खेलौनाजत्रो सानो कुटो, एउटा फलामे सानो बूढो पन्यु र एउटा सानो कसैले फालेको थोत्रे छाताको डन्ठी । पन्यु त फेरि बिहान—बेलुकी भात पकाउन पनि प्रयोग गर्नुपर्ने । हाम्रा हातमा यिनै तीन सामान मात्र थिए । यिनै तीन हतियार पूज्य बन्यो, महादेवले तथास्तु भनी पठाए जस्तो । मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौँ । यो चाहिँ जेलको सुरुङबारेको कथा हो । त्यो र यो सुरुङ दुवै सुरुङै हो । अब यहाँ त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ ।
अब सुरुङले तेर्सो बाटो हिँड्न थालेको थियो । एवम् रितले एक रात दुई रात, एक दिन दुई दिन गर्दै सुरुङ परपर पुग्दै थियो । हाम्रो इन्जिनियरिङ मेल खाँदै थियो, जेलको पहरा फेल खाँदै थियो । निरन्तर खन्नेमा कमरेड जीवन, वीरबहादुर, माधव, भीष्म र गोपाल हुनुहुन्थ्यो । अन्य कमरेडले पनि आंशिक रूपमा खन्नुभयो । खन्ने टिमको नेतृत्व जेल कमिटीले मलाई दिएको थियो । सुरुङ धस्सिए ज्यान जाने, ज्यानकै बाजी थियो ।
नक्खु खोला छेउको जेल, बालुवा–ढुङ्गा मिसिएको गेग्रान माटो, जति–जति खन्यो, सुरुङ भास्सिने हो कि नजर लाइरहनुपर्ने । भास्सिएमा जिब्रो टोक्नुपर्ने, जीवित फर्किने कुनै उपाय थिएन । कडा जोखिम मोलेर खन्नुपर्थ्यो । एक—एक घडी, एक—एक पाइला, एक—एक सास ज्यानको खतरा थियो । हंस कोठामै छाडेर, मृत्यु पातमा राखेर खन्नुपर्थ्यो । सुरुङ जति लामो हुँदै गयो, उति अक्सिजन कम हुने र निस्सासिनुपर्ने ।
एक पटक सुरुङ धस्सिन थाल्यो । अब के होला ? के गर्ने ? तुरुन्तै बैठक बस्यो । समाधान निकालियो— सुरुङको दुवै छेउ इँटाको गारो लगाइ, छतमा दाउराको चाब लगाइ, थोत्रा लत्ता—कपडा कोची रोकथाम गरियो । सुरुङ खन्दा होसियारी राख्नुपर्ने, गोलाकार खन्नुपर्ने, लेबल हेर्नुपर्ने र एक मान्छे लामो खनेपछि घुमफिर गर्ने सेल्टर बनाइन्थ्यो । कहिलेकाहीँ पानी उम्रिन्थ्यो र ढुब्गा छापी बुजो लगाइन्थ्यो । हाम्रो हातमा कमसल औजार, रातोदिन खन्दा पनि एक हात मात्र । एक हात खन्दा पनि माटा—रोडाको थुप्रो, एउटा ढिस्को नै बन्ने । ती टनका टन माटा—ढुङ्गा छुमन्तरमै गायब गरिन्थ्यो।
चौकीदार—नाइके र जेल प्रशासनले भेउ पाउने हो कि भनेर एक—एक सास र एक—एक मुटुको चालमा निगरानी गर्नुपर्थ्याे। जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेड रत्तिभर चुक्नुभएन।
बन्दीहरूसँग गफगाफ गर्ने कमरेड हर्क—धर्मको टोलीले आकाश—पातालको गफ लडाएरै मख्ख पार्ने, भलिबल—टेबल टेनिस—चेस खेल्ने कमरेड घनेन्द्र—नरेशको टोलीले खेलेरै ढुक्क पार्ने र कमरेड प्रदीपको टोलीले गीति कार्यक्रम गरेरै छक्क पार्ने † उनीहरूलाई लाग्यो— झापाली कमरेडहरू गफमा, खेलमा, गाना–बजानामा मख्खै छन्, मस्तै छन् । अनि उनीहरूलाई विश्वास भयो–कम खाना, गम रहना, चटपट न करना, धुसा ओढना, मस्त सोना, तब कटेगा जेलखाना’ यी पङ्क्ति जेलका कहावत हुन् । यसमै चुर्लुम्म डुबेका छन्, मज्जाले रत्तिएका छन्।
त्यहाँ हामीले नाटक खेलेका थियौँ, उनीहरूले हाम्रो नाटकको मूल कथा बुझ्नै सकेनन् । उता झनै–झनै सुरुङ झन् लामो, झन् लामो हुँदै थियो । योजनाले राम्रो लक्षण देखाउँदै थियो । जेल साविक झैँ चलिरहेथ्यो । कुनै हलचल थिएन । हामी खुसीले उफ्रिँदै थियौँ ।
एक दिन त आम्मै हौ हुरुरुरु पुलिस र नाइकेहरू आए, सुरुङ खनेको कोठा र बाहिर सुरुङ खनेको जमिनमाथि ढ्यापढ्याप पारे। ढ्याप—ढ्याप, ढ्याप—ढ्याप’ पारी त हाल्यो । लौ सत्यानाश भो भनेर हामी असिन—पसिन भयौँ । हामी त्यस्ता मान्छे हुँदै होइनौँ, हामीले क्यै गरेकै छैनौँ, शङ्का लिनै पर्दैन’ भन्न बाध्य भयौँ । मनमनै चाहिँ औँलाले देखाउँदै त्यहाँ हामीले सुरुङ खनेकै छैनौँ तर सुरुङ खनेको त हो है । अनि उनीहरूका ढ्याप–ढ्यापले नि फेल खायो, बेकामे साबित भयो।
डीएसपीले कुकुर ल्याएको भए चाहिँ हाम्रो दाल गल्थ्यो होला, कञ्चटबाट महाकाली तेल चुहिन्थ्यो होला । उनीहरू फुस्रो भएर फर्केपछि हामीले सञ्चले लामो सास तान्यौँ । यो अचानकको जाँच पड्तालले ढ्याङ्ग्रो बजाइसकेको थियो। अब अरू उच्च सतर्कताको खाँचो भयो । हाम्रो एकता र सहकार्य झन् बलियो भयो । दुई दिन सुरुङ खन्न बन्द गर्याैँ । शङ्काको तुष हट्यो र फेरि खन्न थाल्यौँ । खन्दै–खन्दै सुरुङ बाहिरी पर्खालमा ठोक्कियो । जग रहेछ ढुङ्गै—ढुङ्गाको । सुरुङ ठोक्कियो सुरुङकै मुखजत्रो ढुङ्गामा । फेरि दुर्भाग्य आइलाग्यो । समाधानका लागि बैठक बस्यो । भरसक ढुङ्गा निकाल्ने, नत्र छेउबाट सुरुङ घुमाउने । म पसे सुरुङमा, ढुङ्गाको चारैतिरको नक—नक र कोर खोतल्नुपर्थ्यो, खोस्रिँदै गएँ । त्यस रात आधामात्रै नक खोलियो । भोलिपल्ट फेरि सुरु गरेँ । रातभरिमा नक र कोर खोलेँ । अब ढुङ्गा तान्नुपर्ने, तान्दा घ्याच्च पर्खाल धस्सिने हो कि भनेर मनमा गहिरा कुरा खेल्यो । हंस कोठामा टाँसेर आएकै थिएँ, ज्यान कर्कलोको पातमा चढाएकै थिएँ । भएभरको बलले ताने ढुङ्गा, अहो खुल्यो भाग्य । बडेमानको ढुङ्गा—बाहिर ल्याउनु सम्भव थिएन र मनासिव पनि थिएन, त्यहीँभित्र चिहान खनेर दफ्नायौँ।
अब सुरुङले जेलबाहिरको सररर...यात्रा थाल्यो । हाम्रो इन्जिनियरिङले सुरुङ बयरको झ्याङमुनि पुग्यो । एकदम सही निसानामा सुरुङ टुङ्गियो । बाहिरी स्थिति ज्ञातका लागि सुरुङको सानो आसुरुङखी—प्वाल बनाइयो र दुर्बिनले झैँ हेरियो । अहा क्या राम्रो लहलह आलुबारी । सुरुङ उद्घाटनदेखि समापनसम्मको यात्राले ३२ औँ दिन खाएछ । ढिलो गर्नु र शूली चढ्नु एउटै अर्थ हुन्थ्यो । बिहान झटपट बैठक बस्यो । त्यसै रात अर्को संसार टेक्ने निर्णय भयो ।
त्यसदिन ६ वटा खरायो ढाली भोज खाइयो । भएको रुपैयाँ दामासाहीले बाँडियो । जिन्सी पनि बाँडफाँड भयो । मेरो घरबाट आएको, मायाले नलाइ—नलाइ राखेको रातो ज्याकेट कमरेड प्रदीपले पहिरिनुभयो । भलिबल, टेबल टेनिस खेल्न किनेको मेरो नयाँ स्पोर्ट जुत्ता कमरेड नारदले लाउनुभयो । अन्य कमरेडलाई के–के भाग पर्याे, मलाई चाहिँ पर्याे— कमरेड अशोकको थोत्रो, औँलामा प्वाल परेको, साँघुरो जुत्ता । आफ्नो होइन, अरूको सेवा गर भन्ने नीति नै थियो । छोटो दिन हो कि लामो दिन हो, घाम पनि ढल्किँदै—ढल्किँदै पर झन् पर पुग्दै थियो । त्यो दिन, अन्तिम जेल बसाइ हुँदै थियो । त्यसै रातदेखि जेल सम्झना र बिर्सनाको तरेलीमा पुग्दै थियो । दिनै खप्टिएर लामो भ’को महसुस भइरहेथ्यो । अनि अन्तिम पलसम्म के कसो होला । विजय—पराजय के होला । कस्ता समस्या आइपर्ला । के—के भोग्नुपर्ला । घामले पनि फर्पिङ डाँडा छिचोल्यो । हामीले पनि नेटो काट्नु थियो । खासमा सुरुङ खन्ने कमरेडहरूको बलिदानी आत्म त्याग, चौकीदार चाहिँ खलनायक’, कमरेड हर्क चाहिँ चौकीदारको भूमिकामा र कमरेड सीपीको सबल वैचारिक नेतृत्वले यो सम्भव हुँदै थियो । मेहनतले खनेको सुरुङ पनि सङ्ग्रहालयमा परिणत हुँदै थियो । अब केही मिनेटमै जेल प्रशासन थाङ्नामा सुकला हुँदै थिए । र कांग्रेस मित्रहरू पनि नराम्ररी भुस बन्दै थिए । अनि भोलिका दिन राज्यसत्ताका राजाहरूलाई फिलिम हेर्या झैँ लाग्ने... । चारैतिर झमक्कै रात परिसकेको थियो, विद्रोहको समय सामुन्ने आउँदै थियो । र हामी मैदानमा फुटबल खेलाडी झैँ आ—आफ्नो पोजिशनमा सल्बलाउन थाल्यौँ ।
’डढ्याम्म..... छत्तीस नम्बरको ग्रिने’ पड्किए झैँ आवाज आयो जेल अत्याउने गरी । खैलाबैला भयो र गल्याब–मल्याबको आवाज आउन थाल्यो । माफ गर्नुहोला, यो पड्केको ग्रिनेड थिएन । यो बिजुलीको मेन ट्रान्समिटर बक्स पड्किएको थियो, ग्रिनेड जसरी । जेल झ्याप्प कालो–नीलो रङ्गमा अँध्यारो भयो । अँधेरी रातमा झन् अँध्यारो खप्टिएको थियो । अगाडिको आकृति अकिञ्चन ठम्याउन नसकिने मुस्लो अन्धकार छायो । केही मिनेटको खलबल पनि बिस्तारै हावामा हराउँदै गयो । नाइकेहरू भोलि मात्र बिजुली आउने भन्दै थिए । जेलै कालो भएपछि नाइके–प्रहरीहरू हाई–अलर्ट ड्युटीमा थिए । मान्छेका स्वरहरू पनि दबिसकेको थियो र सन्नाटा छायो ।
शान्त र चकमन्न रात दोहोरियो । वास्तवमा त्यहाँ, त्यसबेला, खतराको पल र जटिल समयमा हामीलाई प्राकृतिक चिट्ठा परेको थियो । प्रकृतिले हामीलाई अनुकूलता प्रदान गरेको थियो । योजना त थियो बिजुली शर्ट–अफ गर्ने । त्यस टोलीमा कमरेड नारद, अशोक, गोपाल लागिरहनुभएको थियो । उहाँहरूले शौचालयबाट रडले शर्ट गर्नुभयो । तर शौचालयदेखि अघिको कनेक्शनमा मात्र सीमित ठाउँमा बिजुली गयो । चार दिवार पर्खालको चार ठाउँको पाँच सय वाटसहित अन्य ठाउँमा बत्ती गएन । जेल झलमल्ल थियो । हामी समस्यामा फसिरहेका थियौँ । यत्तिकैमा एउटा चमत्कारै भयो । हाम्रा लागि प्राकृतिक शक्ति बलवान् भएर आयो । हाम्रो पक्षमा हावापानी, आँधी–बतास, हुरी–हुन्डरी आइदियो । चार दिवारको नाङ्गो तार झ्याम–झ्याम जुध्न थाल्यो, बत्ती झिलिप–झिलिप हुन थाल्यो र चटट–चटट आगोका झिल्काहरू फाल्न थाल्यो । तुरुन्तै करेन्ट शर्ट भइ ट्रान्समिटर ग्रिनेड झैँ पड्कियो । जेललाई अँध्यारो कालले घ्याप्प छोप्यो । पहिले पहिले पनि त्यहाँ आँधी–हुरी–हुन्डरी आउँदा लाइन जान्थ्यो र भोलिपल्ट मात्र बत्ती आउँथ्यो । अहिले पनि हामी देख्छौँ, आँधी–हुरी–हुन्डरी आउँदा लाइन शर्ट हुन्छ नै, बत्ती जान्छ नै । संसारमा प्राकृतिक शक्ति दिग्विजयी छ । यहाँ यस्तै भएको थियो प्रकृतिसँग जेलले हार्याे र कैदीले जित्यो । प्रकृतिले हामीलाई शुभ साइत दिलायो । जेल विद्रोहको खेल अँध्यारो मैदानमा खेल्नु थियो । अँध्यारोमै छक्याएर गोल हान्नु थियो । बल हाम्रो खुट्टामा थियो । पास खेल्दै नेटमा छिराउनु थियो ।
चैत १२ गतेको त्यो रात । अग्ला–अग्ला चार दिवार । दिवारमाथि नाङ्गो तारको झन्झनाहट । नाइकेहरू कराउँदै थिए– खबरदार.. खबरदार ... प्रहरीहरू चिच्याउँदै थिए– होशियार .. होशियार ...। दिवार बाहिर राइफलधारीहरू लेफ्ट–राइट, लेफ्ट–राइट’ फन्को लाउँदै थिए । अग्लो–अग्लो चार बुर्जाका सेन्ट्रीहरू हतियार ठ्याक–ठ्याक, ठुक–ठुक पार्दै ’ठिक छ, ठिक छ’ भन्दै थिए । रात परेपछि उनीहरूको बेग्लै फुर्तिफार्ती देखिन्थ्यो । लडाइँमा मार्चपास गरे जस्तो, लडाइँ लड्न तयार भए जस्तो, लडाइँ नै लडिरहे जस्तो । त्यहाँ थियौँ हामी झापा विद्रोह गर्ने झापाली विद्रोही कम्युनिस्टहरू । जमिनमाथि उनीहरूको सतर्कता, जमिनमुनि के सतर्कता ? जमिनमाथि शक्ति देखाएर त नाचेकै थिए । हाम्रो योजनाको गोपनीयता र जमिनमुनिको चक्रव्यूहको के भेउ नि ? यो जमिनमुनिको लडाइँ थियो । हो, सुरुङ विद्रोहबाट शासक परास्त गर्नु थियो ।
त्यो १० बजेको कालो रात । पन्ध्र जनाको हाम्रो पल्टन अब अगाडि बढ्यो, सामनेको मृत्यु त्यान्द्रोसरि वरण गर्दै । सामूहिक त्यागले सफलता प्राप्त गर्नु थियो । जेल कमिटीको आपत्कालीन बैठक बस्यो । सबै कमरेडहरू आफैँ छिटो निस्किने ध्याउन्नमा थिए । सबैलाई अघि पठाइ आफूलाई कमरेड सीपीले अन्तिम लिस्टमा राख्नुभयो । मैले त्यो लिस्ट अनुचित ठानेँ र काटेँ । सबै मूल्याङ्कन गरेर चार समूहको लिस्ट बनाएँ । त्यो प्रस्ताव अनुमोदन भयो । सुरुङ पार गर्न अब चार समूह तम्तयार थियो । एक–दुई–तीन समूह पालो–पालो गर्दै सुरुङतिर लम्कियो । क्रान्तिलाई, पार्टीलाई...सलाम गर्दै कमरेड सीपीको समूह पार भयो । लगत्तै कमरेड नरेशको समूह पार भयो । तुरुन्तै कमरेड हर्कको समूहले सुरुङ पार गर्याे । र अन्तिम मेरो समूह थियो । मेरो समूहको कमरेडहरूले पनि निमेष भरमै सुरुङ पार गर्नुभयो । बाहिर भूमिगत पार्टीमा–केन्द्रमा कमरेड सीपीको महत्त्व थियो र अन्य बौद्धिक कमरेडहरूको । सबै कमरेडहरूलाई अघि लगाएँ । म अन्तिममा– जे सहुँला, भोगुँला, सही छाप ठोकेँ । अनि म पनि लम्किएँ सुरुङतिर, सबै कमरेडहरूको तर्फबाट जेललाई बिदा गर्दै ।
सुरुङभित्र पसेंँ । सुरुङको घर्रामा झ्यासझुस राखेँ र घर्रा लगाएँ । सुरुङको भित्तामा कमरेड माओत्सेतुङको फोटो टाँसेँ । चार पाउ घस्रिँदै बाहिरी मुखमा पुगेँ, टाउको निकालेर आँखा डुलाए र कान थापेँ । सब ठिक पाएँ । प्रहरी आफ्नै तालमा, म आफ्नै सुरमा । गुरिल्ला चालमा फुत्त निस्किएँ । कुइनाले आलुबारी घस्रिएँ । नक्खु खोला पार गरेँ र डिलमा पुगेँ, जहाँ कमरेडहरूलाई मेरो प्रतीक्षा थियो । म पुग्नासाथ सफलताको खुसी हामीमा छायो । हाम्रो योजनाले चरण–चरणको खुड्किलो चढ्दै, सङ्गीन जोखिम मोल्दै विजय पाउन सफल भयो । त्यो क्षण राज्यसत्ताको जेलनेल, ऐन–कानुन कागजको खोस्टो भएको थियो । हामीलाई खुला आकाशले स्वागत गर्दै थियो । हामी मुक्त जमिन टेक्दै थियौँ । र जनताको काखमा पुग्न आतुर थियौँ । बाइईबाई नक्खु जेल ...। हामीले छिटो–छिटो कदम अगाडि बढायौँ।
जेल विद्रोह त भयो तर खुसीले उफ्रनु थिएन । अब पाइला–पाइला दुःख/कष्ट र सङ्कट आइलाग्दै थियो । कहाँ खानु–पिउनु, कहाँ आराम गर्नु, कता हिँड्नु, कता पुग्नु, के भन्नु, के गर्नु, बडो विरोधाभास । समूह, जोडा र एक्ला–एक्लै खतरा पन्छाउँदै हिड्यौँ । म दायाँ–बायाँ छलिँदै, भावभङ्गिमा बदल्दै, हाउभाउ फेर्दै झापा पुगेँ र पार्टीको सम्पर्कमा रहेँ । जनताको न्यानो पाउँदा हर्षित भए । दुश्मनलाई छकाउँदा र मूर्ख बनाउँदा रोमाञ्चित भएको थिएँ ।
जब जेलभित्रको बन्दी जीवन होइन, बाहिरी संसारी जीवन, पार्टी र जनताको जीवन जिउन सुरु भयो । जसै मेरो खुसी क्षणभर टिकेन, तसै पानी–पानी भयो । हामी पन्ध्र जना विद्रोहीमध्ये पाँच जना विद्रोही नरेश, घनेन्द्र, धर्म, भीष्म र नारद पुनः पक्राउ परेको खबरले दुःखी भएँ । मन जलन भयो । के जेल विद्रोह असफल भएको हो ? भन्ने दोमन भयो । सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो । चन्द्रमा नि आफ्नो कक्षमा घुम्दा–घुम्दै खुँडो पर्छ, सङ्घर्षमा नि क्षतिको भाग रहेकै हुन्छ । हो त नि भनेर मन बुझाएँ ।
जे गरियो, जो भयो, जस्तो भइपरी आयो । भनौँ नक्खु जेल विद्रोह सफल रह्यो । नेपाली जनताले अनुमोदन गर्याे । श्रेय पार्टी को–अर्डिनेशन केन्द्रलाई गयो । बस्.. जेल विद्रोह गरेर टाउकोको नाम्लो बिसाइएको थियो, मनमा जेलका केही तर्कनाहरू आए । नक्खु जेलमा (अन्य जेलमा हुँदाको प्रयासपछि) हामीले यस्तो कदम चालिरहेका थियौँ, जसमा राजशाही– तानाशाही पञ्चायती सरकारलाई एउटा कडा टक्करको चुनौती दिइरहेका थियौँ–जेलब्रेक मार्फत । कम्युनिस्ट आन्दोलनमा बिरलै हुने, पार्टीको जीवनमा दुर्लभ घट्ने घटना हुँदै थियो । झापा विद्रोहपछि अर्को विद्रोह– जेल विद्रोह रचियो । प्रतिक्रियावादीका सामु झापालीहरूको अदम्य साहस पोखियो । देश र जनताको निम्ति जीवित रहने कि बलिदान दिने सङ्गीन मोड रहेको थियो । अन्त्यमा हामीले दायाँ–बायाँ, अघि–पछिका विघ्न–बाधा परास्त गर्दै विजय प्राप्त गरेका थियौँ ।
यो जेलमा कति कम्युनिस्टहरू आए–गए, वास्तै भएन । तर यी झापाली कम्युनिस्टहरू फरक खालको देखियो । दिलदेखिको कम्युनिस्ट भावनाले जेलब्रेक सम्भव भएको थियो । जहाँ कम्युनिस्ट बन्दी, त्यहीँ जेल विद्रोहको तानाबाना। क्रान्तिको सदाबहार अभिन्न अङ्ग । जेल विद्रोहको झापाली लाइन, कम्युनिस्ट पार्टीको लाइन, पार्टी केन्द्रको निर्देशन थियो । नख्खु जेल यो चिन्तनबाट अछुतो रहने कुरै भएन ।
म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध–कैद सुनायो । दुई वर्षअघि जन्मेको भए सुखानीतिर डोर्याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई सङ्गालेरै जीवन अगाडि बढ्दो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।