महानगरपालिकाहरुको बजेट : कोरोना नियन्त्रण र पूर्वाधार विकासमा केन्द्रित

 असार ११, २०७८ शुक्रबार ८:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

६ महानगरपालिकामध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याएका छन् । काठमाण्डौ, पोखरा, भरतपुर, बिराटनगर र वीरगञ्जले बजेट ल्याएका हुन् । असार १० गते भित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधान भए पनि ललितपुर महानगरपालिकाले भने राजनीतिक विवादका कारण नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन ।

महानगरपालिकाको नगरसभाका बहुमत सदस्यले बजेट कार्यक्रम बहिस्कार गरेपछि बजेट आउन नसकेको हो । बहुमत सदस्यले बैठक बहिस्कार गरेपछि उपस्थित सदस्यहरुलाई नीति तथा कार्यक्रम वितरण गरेर बैठक स्थगित गरिएको छ । ललितपुरको नगरसभा अब अर्को बैठक भोलि शनिबारका लागि बोलाइएको छ ।   

काठमाण्डौ महानगरपालिका

काठमाण्डौ महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाले आउँदो वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी, पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।  महानगरपालिकाले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । 

महानगरपालिकाले आउँदो वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य  बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क व्यहोर्ने गरी बजेट छुट्याएको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टिकृत सेवासहितको महानगर विशेष अस्पताल बनाउने महानगरको योजनामा छ । 

मेयर उज्यालो कार्यक्रम, प्रत्येक वडामा कम्तीमा एक सार्वजनिक शौचालय, एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको छ । पूर्वाधार विकासका लागि महानगरले १० अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

भरतपुर महानगरपालिका 

भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । महानगरले शिक्षा विकासमा १२ करोड ५० लाख तथा मर्मत गर्न आवश्यक देखिएका सडकलाई तत्कालै मर्मत गर्न छ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले स्वास्थ्यतर्फ मात्रै नौ करोड, सहकारी तथा रोजगारी प्रबर्द्धनमा तीन करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा आठ करोड ७० लाख, युवा तथा खेलकुदमा तीन करोड रुपैयाँ बजेट विनियोजित छ । 

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने, किसानलाई साना सिँचाइमा अनुदान, किसानको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न आठ करोड रुपैयाँ बजेट रहेको  छ ।  

वीरगञ्ज महानगरपालिका 

वीरगञ्ज महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि तीन अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले स्वास्थ्य र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । महानगरपालिकाले भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ३५ करोड ६६ लाख १८ हजार तथा स्वास्थ्य क्षेत्रका लागि २१ करोड ३० लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पहिलो र दोस्रो लहरमा कोरोनाको हटस्पटको रुपमा देखिएको वीरगन्जमा सम्भावित तेस्रो लहरको कोरोना महामारीलाई मध्येनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको महानगरपालिकाले जनाएको छ । 

विराटनगर महानगरपालिका 

विराटनगर महानगरपालिकाले चार अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आउँदो वर्षका लागि सहरी पूर्वाधार विकास र आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले पूर्वाधार विकासका लागि मात्रै दुई अर्ब चार करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकासका लागि महानगरपालिकाले १७ करोड ८७ लाख, सामाजिक विकासका लागि एक अर्ब २६ करोड बजेट छुट्याएको छ । 

यो सँगै महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सुशासन, कृषि, पर्यटन विकासका क्षेत्रलाई प्राथमिकता दिएको छ । यस्तै रात्रिकालीन बजार सञ्चालन गराउने, औद्योगिक प्रदर्शनीस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने नीति तथा कार्यक्रमा छ । 

पोखरा महानगरपालिका 

पोखरा महानगरपालिकाले आउँदो वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको बजेटले शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । महानगरपालिकाले शिक्षा क्षेत्रमा एक अर्ब ४२ लाख बजेट छुट्याएको छ भने पूर्वाधार विकासका लागि दुई अर्ब ८६ करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ । स्वास्थ्यतर्फ ४० करोड २२ लाख बजेट छ । सडक बत्ती, पर्यटन, सामाजिक अभियान, ल्याण्डफिल साइडको वैकल्पिक व्यवस्था जस्ता विषयलाई महानगरले जोड दिएको छ ।  महानगरले आउँदो वर्ष आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य पनि लिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया