यस्तो हुनुपर्छ मनोसामाजिक समस्या भएका व्यक्तिप्रतिको व्यवहार

 असार १८, २०७८ शुक्रबार १५:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

मानसिक स्वास्थ्य समस्या कुनै पनि कारणले हुन सक्छ । यसका लागि यो वा त्यो मात्र कारण हुँदैन । यस्तो समस्या भएको व्यक्तिमा तनाव, चिन्ता हुन्छ । यस्तो बेला हामीले उसको कुरा सुनिदियो, उसको नजिक गएर बसिदियो भने पनि मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई ठूलो राहत हुन्छ । तर यो समस्या भएका कतिपय भने कसैसँग नबोल्ने, एक्लै बस्ने, खाना नखाने गर्दछन् । यस्तो बेला परिवारभित्रका सदस्यले ख्याल राख्नुपर्छ । 

परिवारको व्यवहार

कुनै पनि मानिस मनोसामाजिक समस्यामा पर्दा सकारात्मक रूपले हेरीमात्र दिने हो भने पनि धेरै हौसला बढ्छ । तिमी आँट गर, म तिम्रो साथमा छु मात्र भने पनि ठूलो प्रभाव पर्छ । तर परिवारभित्रै यसले यो गर्न सक्दैन, यसलाई कुनै कुरा सोधेर के काम भने जस्तो व्यवहार गरेको पाइन्छ ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई अलिकति छुट्याउने, जस्तै:- समस्यामा भएका मानिस र नभएका मानिसमा व्यवहारमा तलमाथि गर्ने, परिवारभित्र पनि सबै कुरा उसँग नभन्ने, घरभित्रको कुनै काम गर्दा पनि उसँग सल्लाह नगर्ने गरिन्छ ।  यसो गर्दा नकारात्मक असर पर्छ । मेरो समस्या त यस्तो ठूलो रहेछ, मेरो भनाइको कुनै मतलब नै छैन, किन यस्तो गरेको होला भन्ने अनेकौँ कुरा उसको मनमा खेल्न थाल्छन् र उसलाई थप असर पर्न सक्छ । 

हामीले यस्तो गर्नुको साटो घरभित्रको काममा मात्र हैन, समाजमा हुने कुनै पनि काममा उनीहरूलाई पनि सहभागी गराउनुपर्छ । मानसिक स्वास्थ्य समस्या भएकासँग कुराकानी गरिरह्यो भने उसको आत्मबल बढ्दै जान्छ ।  म पनि गर्न सक्छु, मेरो जुन अवस्था छ, त्यसको क्रमिक सुधार हुँदैछ/हुन्छ भन्ने विश्वास बढ्दै जान्छ र यो समस्याबाट चाँडै छुट्करा मिल्छ, अथवा छिटो निको हुन्छ ।  

मान्छे स्वस्थ हुँदा होस् या अस्वस्थ, परिवारको सहयोग सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हामी स्वस्थ भएका व्यक्ति पनि एकअर्काविना केही गर्न नसक्ने अवस्थामा हुन्छौँ भने जसलाई मानसिक समस्या परेको छ, उनीहरूलाई त अझ झन् आवश्यक हुन्छ । उनीहरू घरमा कसैले आफूलाई बुझिदेओस्, आफ्ना कुरा सुनिदेओस् भन्ने चाहन्छन् । 

साथीभाइ र आफन्तको व्यवहार

यो बेला साथीभाइ र आफन्तले पनि उत्तिकै सहयोग गर्न सक्छन् । मनोसामाजिक समस्या भएको व्यक्ति कोही तपाईँको साथी या चिनजानको छ भने तपाईँको सानो सहयोगले पनि उसलाई खुसी मिल्न सक्छ । यस्तो समस्या भएको व्यक्तिलाई ऊ एक्लै छ भन्ने आभास गराउन हुँदैन । कसैले औषधि खाइरहेको छ भने अब तिमीलाई यो औषधिले छिटो निको हुन्छ भन्ने खुसीको कुरा गर्नुपर्छ । तिमीलाई पर्दा हामी हेर्छाैँ, कुनै पनि समस्या सधैँभरि रहँदैन, हामी साथमा छौँ, यो पनि निको हुन्छ भन्ने कुरा गर्दै मनोबल बढाउने कुरा गर्नुपर्छ ।  हामीले यसो गर्‍याैँ भने उसले पनि आफ्नो मनको कुरा खोल्न थाल्छ । 

यो समस्या भएकाहरूलाई ठूलो रूपमा हेर्नु हुँदैन । यो निको हुँदैन, अब यो बोझ हुन्छ भन्ने तरिकाले जुन हामी हेर्छाैँ, त्यो गर्न भएन । सरल रूपमा लिने, हाम्रो सहयोग भयो भने सञ्चो हुन्छ भन्ने आफैँले सोच्नु पर्‍याे र बिरामीलाई पनि यसको आभास गराउनुपर्छ । यस्तो हुँदा राम्रो सुधार आउँछ ।

साथ र सहभागिता आवश्यक

कसैलाई समस्या छ भन्दैमा उसँग कुरा नगर्ने र एक्लो छाड्ने गर्न हुँदैन । सानो काममा पनि उसलाई सहभागी गराउने गर्नुपर्छ । मनोसामाजिक समस्या भएकाहरू कसैलाई धेरै खान मन लाग्छ, कसैलाई निदाइरहन मात्र मन लाग्छ । यो मान्छेअनुसार फरक–फरक लक्षण देखा पर्छ । यो परिवारको सबै मान्छेले बुझ्नुपर्छ ।

यो समस्या भएका व्यक्तिहरूमाथि सकारात्मक व्यवहार देखाएनौँ भने समस्या झनै बढ्छ । दीर्घकालीन अवस्थासम्म जान सक्छ । भरपूर समय दिने गर्नुपर्छ । उसको आत्मबल बढाउनुपर्छ । कसैलाई सिलाइकटाइ, कसैलाई अरू यस्तै केही गर्न मन लागेको हुन सक्छ र त्यही काम गर्न लगायो भने छिटो निको हुन्छ । सिप सिकाउने, समय दिने काम गरिराख्यौँ भने यस्तो समस्याबाट सजिलै छुटकारा मिल्छ ।

हामीलाई अरू समस्या परेजस्तै मनोसामाजिक समस्या पनि पर्न सक्छ । यो सामान्य हो । मान्छे भएपछि यस्ता समस्या आइ पर्छन् । त्यसैले यो समस्यालाई ठूलो रूपमा नहेरी सञ्चो हुन्छ, सामान्य समस्या हो यसलाई भोग्नुपर्छ भन्ने आत्मबलका साथ लाग्नुपर्छ । अब निको हुँदैन, म सकिएँ भनेर सोच्नु हुँदैन । यस्तो अवस्थामा उसको मनको कुरा सबैभन्दा धेरै सुन्नुपर्छ । 

(मनोविद् सुकीर्ति  देवकोटासँग कार्यक्रम ‘स्वस्थ्य मन, स्वस्थ जीवन’का लागि गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया