बाढी, पहिराेबाट घरमा क्षति पुगे अस्थायी आवास निर्माणका लागि तत्काल रकम पठाइने

 असार १८, २०७८ शुक्रबार १६:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्षको मनसुनबाट क्षति भएको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत सङ्कलन गर्न र घरकाे क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुनेबित्तिकै अस्थायी आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ ।’

उहाँले गएकाे वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका तीन हजार तीन सय ४९ वटा घर पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार सात सय ५० रुपैयाँ प्रथम किस्ताबापतको रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनको कोषमा पठाएको पनि उहाँले जानकारी दिनुभयो । यस वर्ष जेठ २८ गतेसम्म सुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो । मनसुनबाट आएको विपत्तिबाट अहिलेसम्म ३३ जनाको ज्यान गएकाे, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएका प्रवक्ता अर्यालले बताउनुभयो । 

बाढी पहिरोबाट चार सय ८३ निजी घर पूर्ण रूपमा क्षति भएको, एक सय १२ घरमा आंशिक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ सामुदायिक विद्यालयको भवनमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, दुई वटा वित्तीय संस्थाको भवनमा क्षति भएको पनि उहाँले बताउनुभयो । प्रवक्ता अर्यालले विपदबाट प्रभावितहरूका लागि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाकाे काम गरिएको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरी विपद् आउन सक्ने ठाउँमा प्राधिकरणले पूर्वसूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उहाँले बताउनुभयो । नाै जिल्लाका ३६ पालिकामा प्रभावमा आधारित पूर्वसूचना प्रणाली जडान गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

अहिले सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडक खण्ड बन्द भएका र सडक डिभिजन कार्यालय, पालिकाले बन्द सडक खुलाउने काम भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया