समुन्द्रटार–त्रिशुली ३ बी हब प्रसारण लाइनको उद्घाटन

 असार १९, २०७८ शनिबार १९:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार–त्रिशुली ३ बी हब एक सय ३२ केभी डबल प्रसारण लाइन र सब-स्टेसनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुन्द्रटार सब-स्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भइ किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशुली ३ हब सब-स्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले दुई सय ७० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरुमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् । २६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवर्द्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।

समुन्द्रटार सब-स्टेसनमा १३२/३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३/११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । एक सय ३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सब-स्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ । सब-स्टेसनबाट स्थानीय रुपमा पनि विद्युत आपूर्ति गरिने भएकोले नुवाकोटको पूर्वी भेगमा विद्युत भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कूल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ईटीईआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो ।

सब-स्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ । बालुवाटारमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी, ऊर्जा, जलस्रोत एवं सिँचाइ सचिव देवेन्द्र कार्की, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य लगायतको उपस्थिति थियो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया