राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन आज

 असार २१, २०७८ सोमबार ६:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । आयोजनाले गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ ।

आयोजनाले अस्ति शनिवार ढल्केबरदेखि न्यू खिम्ती सब-स्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जीआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आयोजनामा जडान गरिएका उपकरण आजदेखि लोडमा चलाइनेछ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सब-स्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । स्वदेशी लगानीमा अहिलेसम्मकै ठूलो आयोजना सम्पन्न भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो । सुरुवाती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ ।

पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया