सेनाले प्रहरीलाई तीन सय थान हतियार उपलब्ध गरायाे

 असार २१, २०७८ सोमबार १३:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई सैनिक मुख्यालयमा साेमवार (आज) आयोजित कार्यक्रममा त्यस परिमाणको इन्सास, एसएलआर लगायतका हतियार र त्यसकाे गोली एवम् आवश्यक पार्टपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रिपरिषद्को गएकाे जेठ १७ को निर्णयअनुसार सेनाले १० हजार आठ सय १८ नाल हतियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो । उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालिमसमेत सेनाले प्रहरीलाई प्रदान गर्नेछ । 

सेनाले बाँकी हतियार आउँदाे वैशाखभित्रमा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ । कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ उपरीक्षक दीपक थापाबीच सहमतिपत्र आदानप्रदान भएको थियो । देशका रक्षा र सुरक्षाको धरोहरका रूपमा रहेका ती दुई निकायका बीच शान्ति–सुरक्षा कायम गर्ने सन्दर्भमा कतिपय समयमा संयुक्त परिचालनसमेत हुँदै आएको छ । 

शान्ति–सुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने त्यस हतियारले प्रहरीको क्षमता अभिवृद्धि गर्नेछ । प्रहरीको अनुरोधमा सरकारबाट भएको निर्णयबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई सन् २०२० जुलाई २९ मा ६ सय थान इन्सास हतियार उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया