राष्ट्रिय सभामा पेस भएका १६ मध्ये १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस

 असार २१, २०७८ सोमबार १६:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभामा पेस भएका १६ अध्यादेशमध्ये १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ । राष्ट्रिय सभाको गएकाे असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेस गरेका १६ अध्यादेशमध्ये १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । 

संसद् सचिवालयले अध्यादेश अस्वीकार गर्न प्रस्ताव पेस गर्न चाहने सांसदका लागि असार २० गतेसम्मको समय दिएको थियो । राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीले २० गतेसम्ममा १० अध्यादेशमा अस्वीकार प्रस्ताव पेस भएको र बाँकी रहेका ६ वटामा अस्वीकार प्रस्ताव पेस नभएको बताउनुभयो ।

राष्ट्रिय सभामा पेस भएका अध्यादेशमध्ये बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ मा अस्वीकार प्रस्ताव पेस भएका छन् । 

त्यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, शपथसम्बन्धी अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ मा पनि अस्वीकार प्रस्ताव पेस भएको सचिव गिरीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘ती सूचनाको कारबाहीको प्रक्रिया सभाले गर्ने प्रक्रियामा प्रस्तावका प्रस्तोता माननीय सदस्यले आफ्नो प्रस्ताव सभामा पेस गर्नु हुनेछ । ब्यहाेरा पढेर आफ्नो वक्तव्यसहित पेस गर्नु हुनेछ । त्यसमाथि छलफल हुन्छ । सम्बन्धित अध्यादेशमा संशोधन प्रस्ताव पेस गर्नु हुने सदस्यमध्ये कोही एक जनाले मात्र प्रस्ताव पेस गर्न सक्ने गरी व्यवस्था हुन्छ र प्रस्तावका प्रस्तोताहरू सबैलाई छलफलमा सहभागी हुने अवसर मिल्छ, उहाँहरू बोल्न चाहँदा खेरी । त्यसपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुहुन्छ र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिन्छ । अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि त्याे प्रस्ताव असफल भएमा अध्यादेश स्वीकार भएको मानिनेछ । अधिवेशन प्रारम्भ भएको, पहिलो बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक आएर पारित गरिसकेको प्रमाणीकरणसम्म भइसक्नुपर्ने हाम्रो विधिको व्यवस्था छ ।’

यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ माथि भने अस्वीकार गर्ने प्रस्ताव पेस भएको छैन । प्रमुख प्रतिपक्षी तथा विपक्षी गठबन्धनका सांसदले १० अध्यादेश अस्वीकृतको प्रस्ताव गराउनुभएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया