खाेप अभियान : नागरिकलाई सास्ती, व्यवस्थापनप्रति आक्राेश

 असार २२, २०७८ मंगलबार १६:१८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले गएकाे जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मङ्गलवार दोस्राे डोज लगाउन सूचना जारी गरेअनुसार खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका कैयाैँ वृद्धवृद्धा खोप लगाउन नपाइ फर्कनुपर्‍याे ।

काठमाण्डाै उपत्यकाका निजामती अस्पताल, प्रसूति गृह, वीर अस्पताल, टेकु लगायत १३ ठाउँमा काठमाण्डौ महानगरपालिकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धा दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बने । उनीहरूले सरकारले सही सूचना नदिएका कारण आफूहरूले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मीन भवनका उपेन्द्र पौडेलले बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाउनुभएन । खोप लगाउने विषयमा सरकारले खेलबाड गरेको र नागरिककाे अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

पाैडेलले भन्नुभयो, ‘बेसरी गाह्राे भयो । प्रेसर, सुगर भएका मान्छे बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायकपनले जनतालाई दुःख दिएको छ । सरकारले खोपसम्बन्धी सूचना प्रवाह राम्रोसँग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा तीन महिनामा इन्जेक्शन भन्छ, यहाँ तीन वर्षमा पनि इन्जेक्शन नपुग्ने भइ सक्यो । ८५ वर्षीय वृद्ध लाइन बस्दा बस्दै तीन/चार जना त लडिसके । तिनको जिम्मेवारी कसले लिन्छ ? पुलिसले भित्र जान दिँदैन । पुलिसले हामीलाई थाहा छैन भन्छ । थाहा छ कसलाई ? जनता भेडा हुन् ?’

बानेश्वरका तेजबहादुर दाहाल पनि बिहान ६ बजे निजामती अस्पताल खोप केन्द्रमा लाइन बस्नुभयो तर दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापनप्रति आक्रोश पोख्नुभयो । उहाँले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक भनेपछि त्यहीअनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यति जना भोलि आऊ, यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलिका लागि कुपन भनेर दिएको भए हामी भोलि आइहाल्थ्यौँ नि !’   

आलोकनगर टोल सुधार समितिका अध्यक्षसमेत रहनुभएका डिआर पोख्रेलले बिहान ३ बजेदेखि खोप लगाउन लाइन बसे पनि दिउँसोसम्म खोप लगाउन पाउनुभएन । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मङ्गलवार जम्मा पाँच सयमात्रै खोप लगाउने सूचना निकालेपछि उहाँको धैर्यता टुट्याे । सरकारलाई बोलेर नभइ काम गरेर देखाउन र नागरिकमा भ्रम छर्ने काम बन्द गर्न उहाँले अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकालेर पन्छिन पाइन्छ ? लाइनमा तीन/चार हजार जनता छन्, अहिले बाँड्ने बेलामा बढीमा पाँच सय बाँड्ने रे !’

अर्का एक जनाले ग्राण्डीबाट र धुलिखेलबाट कालोबजारी गरेर प्रति खोप १० हजार रुपैयाँमा बेच्ने गरेको सूचना आफुले पाएको भन्दै त्यसबारे खोज गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । 

पुण्यप्रसाद भट्टराईले आफू बिहान ६ बजेदेखि लाइन बसे पनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाइन बसेपछि खोप लगाउन पाएको बताउनुभयो ।  

सरकारले पालिकामार्फत जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मङ्गलवार दाेस्राे डोज लगाउन सूचना निकालेको थियो । काठमाण्डौ महानगरभित्र १३ ठाउँमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा दुई वटा खोप केन्द्र तोकिएको छ । महानगरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुःख पाएका छन् भने सङ्क्रमणको जोखिम पनि बढाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया