एमाले विवाद : '१० दिनअघि जुन अवस्थामा थियौँ, अहिले पनि त्यही अवस्थामा छौँ'

 असार २४, २०७८ बिहिबार २१:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति गएको १० दिनदेखि  शून्य अवस्थामा रहेको खुलासा भएको छ ।

बिहीवार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरूले बेलुका सहमति हुने भनेर पत्रकारहरूलाई सकारात्मक सन्देश दिएका थिए । तर बिहीवार बेलुका बसेको बैठक औपचारिक रूपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिनयता कुनै प्रगति नभएको खुलासा गरेका हुन् ।  

सिंहदरबारमा अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थ मन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरि दुवै पक्षका नेताहरू बाहिरिएका थिए ।

बाहिरिने क्रममा नेता भुसालले भन्नुभयो, 'हामी झन्डै १० दिनअघि जुन अवस्थामा थियौँ अहिले त्यही अवस्थामा छौँ । खास प्रगति गरेका छैनौँ ।'

यता वार्ता समितिका अर्का सदस्य सुवास नेम्वाङले भोलि बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताउनुभयो ।

अर्को बैठक भोलि (शुक्रबार) ११ः३० बजे अर्थ मन्त्रालयमा बस्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया