‘महामारी नियन्त्रण गर्न छुट्टै स्वायत्त निकाय चाहिन्छ, मन्त्रालयले मात्रै सक्दैन’

 असार २५, २०७८ शुक्रबार १९:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विज्ञहरूले महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रवारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समयमा–समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयभन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन् । 

छाती रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कोभिड १९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दै सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण रोकथाम र उपचार गर्न सक्दैन भन्ने प्रमाणित गरेको बताउनुभयो । यस महामारीमा सबैले स्वास्थ्य मन्त्रालयको मात्रै मुख ताकेर बसेको तर मन्त्रालयभित्रको पुरानै प्रशासनिक तौरतरिकाले कैयौँ राम्रा काम भए पनि निरन्तरता पाउन नसक्दा प्रभावकारितामा प्रश्न उठेको बताउनुभयो । 

उहाँले विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिर्वतन ल्याउनु आवश्यक भएको बताउनुभयो । उहाँँले महामारीलाई सम्बोधन गर्न विकसित देशहरूले सेन्टर फर डिजिज कन्ट्राेल एन्ड प्रिभेन्सन (सीडीसी) भनी छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको दृष्टान्त दिँदै त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराउनुभयो ।

डा. कार्कीले भन्नुभयो, नियमित रूपमा आउने महामारी नियन्त्रणका लागि स्वायत्त प्रकृतिको निकाय आवश्यक पर्ने हुन्छ । त्यसलाई आवश्यक पर्ने साधन, स्रोत उपलब्ध गराएर चाहिने अधिकार दिएर, अरु देशको सीडीसीले कसरी काम गरेका छन् भन्ने अध्ययन गरेर, उपयुक्त निकाय बनाउनु जरुरी छ । यसले महामारी आउँछ भन्ने सोचेर सधैँ नियन्त्रण, रोकथाम र आवश्यक पहलकदमीका लागि तयारी अवस्थामा बसिरहन्छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भेरोसेल खोप चीनमा ७९ प्रतिशत प्रभावकारी रहेको खोज तथा अनुसन्धानले देखाएको भन्दै खोपको प्रभावकारितामाथि शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले कडा प्रयोग र परीक्षणपछि मात्रै आउने भएकाले खोपमाथि कुनै शङ्का गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो । 

उहाँले कोभिड १९ बारे विश्व नै अनभिज्ञ भएकाले सुरुवाती समयमा निकै समस्या परेपछि अब भने सहज हुँदै गएको बताउनुभयो । कुनै उमेर समूहलाई कोभिड नलाग्ने भन्ने नहुने भन्दै डा. पुनले काेभिड–१९ सङ्क्रमणबाट बच्न खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताउनुभयो ।

छलफलमा समिति सदस्यहरूले कोभिड १९ को वर्तमान अवस्था, प्रकृति, स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव लगायतबारे विज्ञहरूसँग जिज्ञासा राखेका थिए । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया