सर्वाेच्चकाे ऐतिहासिक फैसलाले जनताकाे जित भयाे : सभामुख सापकाेटा

 असार २८, २०७८ सोमबार १८:४८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै प्रतिक्रिया दिँदै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुनर्स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिनुभएको हो ।

उहाँले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताउनुभयो । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अङ्गलाई पनि दिशानिर्देश गरेको सभामुख सापकाेटाले उल्लेख गर्नुभयाे । सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज जुन फैसला भएको छ, यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अवसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशलगायत सम्पूर्ण संवैधानिक इजलासका न्यायाधीशज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसका साथसाथै यो संसद् पुनर्स्थापनाका लागि र यो फैसला गराउनका लागि भूमिका खेल्ने सबैलाई म धन्यवाद दिन चाहन्छु । यो बहुआयामिक महत्त्वको छ । हाम्रो संविधान, लोकतान्त्रिक मूल्य–मान्यताका सबै आयामलाई हामीले समेटेका छौँ । यसका साथसाथै नयाँ केही मौलिक प्रावधान पनि हामीले राखेका छौँ । त्यस अर्थमा हाम्रो संविधान जति प्रष्ट छ त्यही प्रष्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ–छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ । र यसले बहुआयामिक हिसाबले संसद् विघटनकै सन्दर्भमा सबै हामी संवैधानिक निकायको अथवा राज्यका अङ्गलाई पनि धेरै राम्रोसित दिशानिर्देश गरेको छ । धेरै राम्रो व्याख्या छ । उच्चस्तरीय व्याख्या छ । यो बौद्धिक, कानुनी हिसाबले पनि, दार्शनिक हिसाबले, सैद्धान्तिक हिसाबले, वैचारिक हिसाबले, हरेक हिसाबले यो स्तरीय छ । मलाई प्रथम दृष्टिमै जो सुने । यो अलि लामोजस्तो लाग्छ । तर यसले एउटा सिद्धान्त प्रतिपादन गरेको छ । त्यसकारण यो फैसला ऐतिहासिक छ ।’ 

सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरूलाई विगतको समीक्षा गर्दै संसद्लाई प्रभावकारी रूपले सञ्चालन गर्नका लागि व्यवस्थित र शृङ्खलाबद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उहाँले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताउनुभयो । 

सभामुख सापकोटाले अब आफ्नो भूमिका र दायित्व पनि बढेको बताउनुभयो । आफूले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया