‘कोरोना नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन’

 असार ३१, २०७८ बिहीबार १०:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) लाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका 'काेराेना गार्ड' जस्ता विद्युतीय यन्त्र नकिन्न सरकारले आग्रह गरेको छ । 

कोरोनालाई नियन्त्रण गर्ने हल्ला फिजाउँदै बिक्री लागि बजारमा ल्याइएका यस्ता उपकरणमा कुनै सत्यता नभएकाले हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको हो । 

मन्त्रालया सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गर्नुभएको हो । 

‘विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निष्क्रिय बनाउने वा त्यस यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’

गएकाे वर्ष पनि कोरोनाको भाइरसबाट जोगाउनको लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले त्याे कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । त्यस कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने  तर उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्न सक्ने बताइएको थियो । 

यस्ता कुरा तथ्यहीन भएकाले भ्रामक कुराको पछि नलाग्न केन्द्रको अनुरोध छ । बजारमा अहिले कोरोना नियन्त्रण गर्ने भन्दै कोरोना गार्ड जस्ता विद्युतीय उपकरणको विज्ञापन भइरहेको छ । तर केन्द्रले अहिलेसम्म कोरोनालाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास नभएको भन्दै यस्ता उपकरणको पछि नलाग्न भनेको हो । 

खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नु नै कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भएको पनि केन्द्रले स्पष्ट पारेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया