अफगानिस्तानमा रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको ज्यान गयो

 साउन १, २०७८ शुक्रबार १४:५८:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा ज्यान गएको छ । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले यस खबरको पुष्टि गर्नुभएको छ । स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परि सिद्दीकीकाे ज्यान गएकाे हाे । 

अफगानिस्तानको टीभी च्यानल टोलो न्युजका अनुसार कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको सङ्घर्षको रिपोर्टिङ गर्ने क्रममा सिद्दीकीको ज्यान गएको हो । तालिबान समूहले बुधवार स्पिन बोल्डक सहर र त्यहाँ पाकिस्तानसँग जोडिएको एक महत्त्वपूर्ण सीमा चौकीमा नियन्त्रण लिएका थिए ।   

दानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटो पत्रकार थिए र उनी केही दिनदेखि अफगानिस्तानमा चलिरहेको सङ्घर्ष र तनावको रिपोर्टिङ गरिरहेका थिए । 

उनले आफ्नो ट्विटर अकाउन्टमा पछिल्लो दिन लगातार त्यहाँको स्थितिको जानकारी दिँदै आक्रमणमा पटक–पटक बचेको बारेमा बताएका थिए ।   

दानिश सिद्दीकी भारतमा रोयटर्स पिक्चर्सको मल्टिमिडिया टिमको प्रमुख थिए । 

उनले दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । सन् २००७ मा उनले जामियामा नै एजेके मास कम्युनिकेशन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए ।

उनले पत्रकारितामा आफ्नो करिअरको सुरुवात एक टीभी न्युज संवाददाताका रूपमा गरेका थिए । पछि उनी फोटो पत्रकार बने र सन् २०१० मा रोयटर्समा प्रशिक्षार्थीका रूपमा काम गर्न सुरु गरे ।

उनले सन् २०१८ मा फिचर फोटोग्राफीमा पुलित्जर पुरस्कार जितेका थिए ।   

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया