रसुवा भन्सारमा लक्ष्यको आधा पनि राजस्व सङ्कलन हुन सकेन

 साउन १, २०७८ शुक्रबार १५:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर : रसुवागढी नाका

रसुवा – आर्थिक वर्ष २०७७/०७८ मा रसुवा भन्सारमा लक्ष्यको आधा पनि राजस्व सङ्कलन हुन नसकेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष साउनदेखि असार मसान्तसम्म लक्ष्यको तुलनामा ४८ दशमलव ९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । 

सात अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा तीन अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ मात्र राजस्व उठेको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व सङ्कलन प्रभावित बनेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । 

‘कोरोनाका कारण चीनबाट सामग्रीको आयात घटेको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो राजस्व सङ्कलनमा वृद्धि हुन सकेन ।’ २०७६ माघयता नाकाबाट आयात निकै कम भएको उहाँको भनाइ छ । 

२०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा सञ्चालन भइरहेको नाकाबाट दैनिक आठ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटक–पटक नाका बन्द हुँदा राजस्व सङ्कलन पनि प्रभावित भएको हो । 

कार्यालयले आर्थिक वर्ष २०७२/०७३ मा ७४ करोड ३३ लाख २६ हजार, २०७३/०७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, २०७४/०७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार, २०७५/०७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गएकाे आर्थिक वर्ष २०७६/०७७ मा आठ अर्ब २७ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूललगायत आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको टेबल, अम्रिसोको कुचोलगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया