जसपाकाे यादव पक्षले पारित गर्‍याे संसदीय दलकाे विधान, ‘पार्टी एउटै हाे, दुई वटा हाेइन’

 साउन ५, २०७८ मंगलबार १८:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालकाे उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ । मङ्गलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताउनुभयो । सरकारमा सहभागी बन्ने मन्त्रीहरूको बारेमा भने कुनै छलफल नभएको उहाँले बताउनुभएको छ । ‘संसदीय दलको विधान पारित भएको छ’, अध्यक्ष यादवले भन्नुभयो, ‘जसपा एउटै पार्टी हो, दुई वटा होइन ।’

त्यस्तै पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताउनुभएको छ । बैठकले संसदीय दलको विधानलाई मुख्य एजेन्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरूको बारेमा केही कुरा नभएको उहाँकाे भनाइ थियो ।

पार्टीका सांसद रामबाबु यादवले संंसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि त्यसअनुसार नै संसदीय दलका पदाधिकारी चयन गरिने बताउनुभएको छ । केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै भएको उहाँले बताउनुभयो ।

सांसद यादवले अबको एक/दुई दिनमा पार्टीले निर्णय गर्ने र निर्वाचन आयोगबाट पनि दलको बारेमा आधिकारिकता आएपछि पार्टी अघि बढ्ने बताउनुभयो । ‘मान्छे चरित्रको हुनुपर्छ, डबल रोलले चल्दैन, एउटै चरित्र लिएर महन्थ ठाकुर पक्ष आउनुभयो भने पार्टीमा अझै ठाउँ छ’, सांसद यादवले भन्नुभयो, ‘मन्त्रीहरूको कुरा भनेको निर्वाचन आयोगबाट दल फाइनल भएपछि मात्रै हुन्छ ।’

नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै सांसद यादवले ढिलो/चाँडो सरकारमा सहभागी बन्ने बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया