‘जनार्दन शर्मा निकै मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ’

 साउन ६, २०७८ बुधबार १७:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा मेहनती भएको टिप्पणी गर्दै अर्थ मन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गर्नुभएकाे छ । बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भन्नुभयो, ‘हाम्रो अर्थ मन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरूले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिडको समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरूलाई अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ, यसलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईँहरूले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया