गण्डकीमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ

 साउन ८, २०७८ शुक्रबार १५:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रका तीन/तीन जना गरी ६ जना मन्त्री थप्नुभएको हो ।

नवनियुक्त ६ मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मुख्यमन्त्री पाैडेलले शपथ गराउनुभएको हो ।

गण्डकी सरकारमा कांग्रेसबाट मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री; मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । त्यस्तै  माओवादी केन्द्रका रामजी बराल अर्थ मन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा नियुक्त हुनुभएको छ ।

योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका गरी पाँच सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको थियो । कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बन्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया