‘संविधानमा धारा (७६) ५ राख्ने अनि देउवालाई अदालतकाे परमादेशमा प्रधानमन्त्री भएकाे भन्न मिल्छ ?’

 साउन ८, २०७८ शुक्रबार १६:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावनाअनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिनुभएको छ । 

नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दाबी गरिरहेका बेला कांग्रेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ?भनी प्रश्न गर्नु भयो । उहाँले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हट्न बाध्य भएको दाबीसमेत गर्नुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै उहाँले भन्नुभयो, ‘संविधानको मर्म र भावनाअनुसार देउवा प्रधानमन्त्री बन्नुभएको हो । विद्वान् भन्छ, आफूलाई कानुनविद् भन्छ, कानुनको विद्यार्थी भन्छ, संविधानमा धारा ७६ (५) राख्ने अनि अहिले आएर चाँहि त्यही धाराअनुसार देउवा प्रधानमन्त्री बन्दा विधि, संस्कार र मूल्य, मान्यताको कुरा गरेर हुन्छ ? आफूले कार्यपालिकाको नेतृत्व गर्दा विधि र नियम मिच्ने, अनि जबरजस्ती विधि र प्रक्रिया नअपनाइ चुनावमा जान प्रयास गर्ने, त्यसपछि दलहरूले मिलेर कानुनी र राजनीतिक दुवै बाटोबाट लडाइँ लडी संविधानको रक्षा गर्दा विधिको कुरा गर्ने ?’

नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढ्न पनि आग्रह गर्नुभयो । उहाँले कोरोना खोपको आवश्यक व्यवस्थापन गर्न, देशमा भाइरसकै रूपमा रहेको भ्रष्टाचारको अन्त्य गरी देशकाे सङ्कट समाधान गर्न प्रधानमन्त्री देउवालाई सफलता मिल्ने विश्वाससमेत व्यक्त गर्नु भयो ।

नेता सिंहले नागरिकलाई राहत दिने तथा सङ्घीयतालाई संस्थागत गराउने गरी ल्याइएका विधेयकलाई संसदबाट छिटो पारित गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नेपालको परराष्ट्र सम्बन्ध सुधार्न पनि प्रधानमन्त्री देउवालाई सल्लाह दिनुभएको छ । दुई छिमेकीसँगको सम्बन्धसमेत कमजोर भएकाले समान व्यवहार र सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्री देउवालाई नेता सिंहले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया