प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझाव : प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकका लागि काम गरौँ

 साउन ८, २०७८ शुक्रबार १७:९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद् र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो ।

अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर नागरिककाे सेवामा लाग्न पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा र संसदमा भएका कम्युनिस्टहरू एक ठाउँमा बस्नुपर्छ र सडकमा भएका कम्युनिस्टहरू पनि एक ठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिस्टहरूले सडकमा भएका कम्युनिस्टहरूलाई दमन गरेर जानुभएन । प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि नागरिकका लागि काम गरौँ ।’

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताउनुभएको छ । वैद्यले ओलीको कार्यशैली इगो र पद–प्रतिष्ठामै अड्किएको बताउनुभयो । उहाँले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संसदवादी कम्युनिस्टहरूलाई फेरि मिलेर अघि बढ्न सुझाउनुभएको छ ।  

‘ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?’ अध्यक्ष वैद्यले भन्नुभयो, ‘संसदमा जाने साथीहरू सबै एक हुँदै सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।’

अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट रहेको उल्लेख गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया