बझाङ : अविरल वर्षापछि आएकाे बाढीले लघु जलविद्युतको भवन बगायो, तीन जना घाइते

 साउन ९, २०७८ शनिबार १८:२३:५२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बिहीबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बझाङमा लघु जलविद्युतको भवन बगाएको छ । जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघु जलविद्युत आयोजनाको भवन बगाएको हो ।

करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाबाट द्वारी गाउँका करिब ५ सय घरधुरीले उज्यालाे पाएका थिए । तर केही समयदेखि प्राविधिक समस्याका कारण बीचमा अबरुद भएको थियाे । अहिले आएर फेरि निर्माण कार्य चलिरहेको बेला बाढीले भवन बगाएको स्थानीय उब्जन बोहराले बताउनुभयो । 

वर्षाले त्यही दिन द्वारी गाडमाथि रहेकाे द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार पुन: काठेपुल हाल्ने क्रममा गाडले बगाएर तीनजना घाइते भएका छन् । घाइते हुनेमा त्यही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान आग्री, ६५ वर्षका रिउल्या कठायत रहेका छन् । दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया