‘अनलाइन फारम नभरेकै कारण कोही खोपबाट वञ्चित हुँदैनन्’

 साउन १०, २०७८ आइतबार ९:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने जनाएको छ । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो ।

खोप लगाउने र खोप लगाइसके पछि प्रमाणपत्र लिनेहरुको भीड बढेपछि अहिले अनलाइन दर्ताको व्यवस्था गरिएको हो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरको सबै स्वास्थ्य कार्यालयलाई  पत्र पठाउँदै गएको १ गतेदेखि अनलाइन दर्ताको व्यवस्था मिलाउन भनेको हो ।

यो झन्झटिलो प्रक्रिया भएकाले इन्टरनेटको पहुँच नभएका ठाउँका नागरिक खोपबाट वञ्चित हुने हो कि भन्ने आशङ्का बढेको छ ।  तर, स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले भीड नियन्त्रणका लागि गरिएको यो प्रयासबाट कोही पनि खोप लगाउनबाट नछुट्ने दाबी गर्नुभयो ।

खोप अभियानबारे आफ्नो जिल्लाले बनाएको नियम र सूचनाबारे जानकारी राख्न पनि उहाँको सुझाव छ । स्वास्थ्य मन्त्रालयले अहिले ५० वर्षभन्दा माथिका नागरिक र निश्चित वर्ग तथा पेसा छुट्याएर खोप अभियान सञ्चालन गरिरहेको । काठमाण्डौमा भने १८ वर्षभन्दा माथिका नागरिकलाई पनि एक मात्रा लगाए  पुग्ने अमेरिकी खोप दिइएको छ ।

अमेरिकाबाट आएको कोभ्याक्स सुविधाको १५ लाख खोप सुरुमा ५० देखि ५४ वर्षका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिने भनिए पनि खोप बढी भएपछि १८ वर्षभन्दा माथिका अरु नागरिकलाई पनि दिइएको हो ।

यस्तै, ५५ वर्षभन्दा माथिकालाई चिनियाँ भेरोसेल खोप दिइ राखिएको छ । स्वास्थ्य मन्त्रालयले छिट्टै १८ देखि ५० वर्ष उमेर समूहलाई पनि खोप दिने जनाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया